झापा,असोज २२ । संयुक्त अरब इमिरेट्स (युएई) ले आप्रवासीलाई भ्रमण भिसासम्बन्धी नयाँ नियम लागु गरेको छ ।

नयाँ नियम अनुसार युएईमा भ्रमण भिसामा जान चाहने परिवार, आफन्त वा साथीलाई प्रायोजन (स्पोन्सर) गर्न स्पोन्सरको आम्दानीको स्रोत मासिक चार हजारदेखि १५ हजार दिरामसम्म हुनुपर्ने प्रावधान लागु गरेको हो ।
नयाँ प्रावधान अनुसार युएई भ्रमणका लागि आफन्तलाई स्पोन्सर गर्नुअघि स्पोन्सरको आम्दानी स्पष्ट हुनुपर्ने छ र न्यूनतम तलब पूरा गर्न सक्नेले मात्रै आफन्त वा साथीलाई भ्रमण भिसामार्फत युएई लैजान सक्ने छन् ।
नयाँ नियम अनुसार विभिन्न चार तह निर्धारण गरिएको छ । जसमा पहिलो तहमा पर्ने बुबाआमा, श्रीमान्÷श्रीमती, छोराछोरीलाई भ्रमण भिसामार्फत युएई लैजानका लागि मासिक न्यूनतम चार हजार युएई दिराम मासिक तलब हुनुपर्ने उल्लेख छ ।
यस्तै दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नातिनातिनीलाई भ्रमण भिसामा लैजानका लागि मासिक आठ हजार दिराम तलब हुनुपर्ने छ । तेस्रो तहमा पर्ने काकाकाकी, मामा, फुपू कजिनलाई भ्रमण भिसामा लैजानेका लागि मासिक आठ हजार दिराम न्यूनतम तलब हुनुपर्ने छ । युएईले नातेदारबाहेकका साथीभाईलाई भ्रमण भिसामा लैजान सकिने तर यसका लागि स्पोन्सरको तलब मासिक १५ हजार दिराम हुनुपर्ने उल्लेख गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले युएईको भ्रमण भिसामा पारदर्शिता कायम गर्न नयाँ नियम लागु गरेको हुन सक्ने बताए । उनले युएई सरकारको पछिल्लो भ्रमण भिसा परिवर्तनसम्बन्धी नयाँ व्यवस्थाका कारण त्यहाँ रहेका नेपालीलाई पर्ने असरबारे भने युएईस्थित नेपाली दूतावासमार्फत बुझ्ने काम भएको जानकारी दिए । उनले भने, “युएईको नयाँ नियमले युएईमा रहेका हाम्रा नागरिकलाई केकस्तो असर गर्छ भन्ने विषयमा यथार्थ विवरण दुई दिनभित्र परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराउन युएईमा रहेको दूतावासलाई पत्राचार गरेका छौँ ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्