झापा,असोज २२ । राष्ट्रिय मानव अधिकार आयोगले हाल मुलुकमा विकसित राजनीतिक परिस्थितिप्रति ध्यानाकर्षण गराउँदै सरकारलाई संयमतापूर्वक आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।

आयोगले जेनजी पुस्ताका समूहले आगामी दिनमा गर्ने भनिएको प्रदर्शन र त्यससँग सम्बन्धित गतिविधिहरूबाट शान्ति–सुरक्षामा पार्न सक्ने सम्भावित प्रभावप्रति चिन्ता व्यक्त गरेको छ । आयोगले विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरूबाट अभिव्यक्त विचारले मानव अधिकारको उपभोगमा अवरोध आउन सक्ने अवस्था देखिएकाले त्यसलाई गम्भीरतापूर्वक लिएको पनि बुधबार विज्ञप्तिमार्फत जनाएको छ ।
आयोगका अनुसार हिंसात्मक गतिविधि, अरू व्यक्तिलाई लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण नै धुमिल हुने जोखिम रहेको छ । आयोगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण, विधिको शासन कायम गर्नुपर्ने र सामाजिक सद्भाव बचाइ जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत संक्रमणकालीन अवस्थाको निकास खोज्नु राज्य र नागरिक दुवैको दायित्व भएको उल्लेख गरेको छ ।