झापा, असोज २२ । झापा गाउँपालिकाका ६३३ बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।

झापा गाउँपालिकाका वडा नं. १ र २ मा रहेका विस्थापित र प्रभावित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिको संयोजन र एकका लागि एक अभियानको अगुवाईमा संकलित राहत सामग्री वितरण गरिएको हो । वडा नं. १ को मिलनबस्ती र सालमारा तथा वडा नं. २ को सुगाबथान तथा कुवाडीका विस्थापित र प्रभावित गरी जम्मा ६३३ घरपरिवारलाई इलाका प्रहरी कार्यालय कुमरखोद र वडा नं. २ को कार्यालय नजिक रहेको रेडक्रस सोसाईटीको भवन गरी दुईवटा राहत केन्द्रबाट राहत बितरण गरिएको हो ।
आज विहान १० देखि दिउँसो ४ः२० बजेसम्म चलेको राहत वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, अरिदमन गणका गणपति प्रमुख सेनानी सरोज थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू , राष्ट्रिय अनुसन्धान कार्यालयका उपसचिव उमेश पाण्डे,जिल्ला रेडक्रसका सभापति लोकराज ढकाल, एकका लागि एक अभियानका महेन्द्र गिरीलगायत अन्य दाताहरु तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै उक्त राहत वितरणमा अरिदमन गणका ५० जना फौज तथा अन्य सुरक्षा निकायका फौजहरुले सुरक्षा व्यवस्था लगायत राहत वितरणमा सहजीकरण गरेका थिए । भोलि झापा गाउँपालिका वडा नं. १ र २ का बाँकी विस्थापित र प्रभावित घरपरिवारहरुलाई राहत वितरण गर्ने कार्यक्रम रहेको अरिदमन गणका गणपति प्रमुख सेनानी थापाले जानकारी दिएका छन् ।
अरिदमन गण, चारआलीको २ वटा ७.५ टन टाटा ट्रकमा ४३ जना फौजमार्फत विर्तामोड र सुरुङ्गाबाट ढुवानी गरी इलाका प्रहरी कार्यालय कुमरखोदमा ती सामग्री डम्पिङ गरिएको थियो । त्यसैगरी विर्तामोड र सुरुङ्गामा राखिएका बाँकी राहत सामग्रीहरु आज अरिदमन गणको २ वटा ७.५ टन टाटा ट्रकमा ५० जना फौजमार्फत झापा गाउँपालिका वडा नं. २ स्थित इलाका प्रहरी कार्यालय कुमरखोद र वडा नं. २ को कार्यालयसँगै अवस्थित रेडक्रसको भवनमा ढुवानी गरिएको थियो ।
पीडितहरुलाई प्याकेजअनुसार राहत वितरण गरिएको हो । प्याकेज अनुसार प्रतिपरिवार चामल १ बोरा(केजी), तेल १ लिटर , नुन २ केजी , आलु ५ केजी , दाल २ केजी , पानी १ काटुन , म्याट २ थान र कम्बल २ थान वितरण गरिएको हो ।