झापा, असोज २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक ढंगले विघटन भएको भन्दै तत्काल संसद फिर्ता गराउने बताएका छन्।

आज भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसले पनि यहि बाटोमा लाग्नुपर्ने बताएका हुन्।

‘देशको लोकतान्त्रिक बाटोमा फर्काउन असंवैधानिक ढंगले विघटन भएको तत्काल संसद फिर्ता गर्ने मागलाई राखेर अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन। मैले विश्वास लिएको छु कांग्रेस पनि यहि बाटोमा अगाडि बढाउने छ। एमाले यहि बाटोमा अगाडि बढ्नेछ। अन्य पार्टी पनि लाग्नेछन्।’ओलीले भने, ‘ अर्को बाटो छैन। देशलाई लोकतान्त्रिक बाटोमा फर्काउने। असंवैधानिक बाटोलाई मान्यता दिँदा देश बर्बाद हुन्छ। पछि ढिला भएछ भनेर पछुतो मान्छन्।’

अध्यक्ष ओलीले अहिले सरकार नेपालीको नभएको दाबी गरे । ओलीले नेपालीको प्रतिनिधि चाहिँ होइन, अरु कसैको प्रतिनिधि भएको बताए।‘मैले अस्ति पनि भने, यो जसरी बन्यो मैले संक्षेपमा भनेको छु सरकार हा हुँबाट बनेको सरकार हो, त्यसको अलि व्याख्या गरेको छैन। समयमा गरुँला।’ओलीले भने, ‘यो सरकार कसैको प्रतिनिधि होइन। नेपालीको चाहिँ होइन। अरु कसैको भए मलाई थाहा छैन। कसैले छानेको सरकार होइन यो। उहाँहरु एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ।’

उनले कसरी केपी ओली र रमेश लेखकलाई कसरी गिरफ्तार गर्न सकिन्छ भनेर सरकार लागिपरेको बताए। ओलीले चुनाव गराउन भन्ने राष्ट्रपतिले तोकिदिएको म्याण्डेट भएको बताए। उनले भने, ‘कार्कीलाई राम्ररी थाहा छ। नेपालको संविधानको व्याख्या गरेर आएको मान्छे हो। के के व्याख्या गर्नुभयो त्यो छोडौं तर नेपालको संविधानले स्पष्ट रुपमा भन्छ। प्रधानन्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी लाभका पदमा बस्न सक्दैन। प्रधानमन्त्री मन्त्रीको कुरा छौडौं। तर उहाँ सुरिनु भयो। त्यो सुरिन २३ र २४ गते जेनजी भनेर सडकमा उत्रनुभयो। उहाँ के कामका लागि उत्रनुभयो ? चुनाव गराउन भन्ने त राष्ट्रपतिले तोकिदिएको म्याण्डेट हो। उहाँहरुको होइन।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्