झापा,असोज २५ । करिब छ महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट पुनः नियमित उडान सुरु हुने भएको छ ।

थाई एयर एसियाले यही असोज २६ (अक्टोबर १२) देखि भैरहवा–थाइल्यान्डबिच अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको हो ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर एसियालाई सातामा दुई वटा उडानका लागि अनुमति दिइसकिएको छ । “थाई एयर एसियाले असोज २६ देखि साताको दुई उडान गर्ने गरी अनुमति लिएको छ,” तिवारीले भने, “जजिरा एयरवेजलगायत अन्य कम्पनी पनि तयारी चरणमा छन् । जजिराले तिहारपछि उडान सुरु गर्ने योजना बनाएको छ ।”
गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा भैरहवाबाट चार वटा विदेशी विमान कम्पनीले अस्थायी रूपमा उडान सञ्चालन गरेका थिए ।
सो समयमा एक महिनासम्म सातामा २० वटासम्म उडान भइरहेका थिए तर त्यसयता नियमित उडान बन्द भएका कारण अहिले केही चार्टर उडान मात्र भएका छन् ।