झापा, असोज २६ । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका झापाका प्रहरी कार्यालयहरुको अवलोकन गरेका छन् ।

उनले बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय ,जिल्ला ट्राफिक प्रहरी कार्यालय र दमकको इलाका प्रहरी कार्यालयको अवलोकन गरेका हुन् । पहिरो प्रभावित इलामबाट फर्किदा उनले ती प्रहरी कार्यालयहरुमा पुगेर हेरेका हुन् । जेनजी आन्दोलनका क्रममा घुसपैठ गरेको अराजक समूहले प्रहरी कार्यालयहरु आगजनी गरेको थियो । समुदायस्तरबाट पुनर्निर्मित बिर्तामोडका कार्यालयहरुको अवलोकन गर्दै प्रहरी महानिरीक्षक खापुङले यहाँका सचेत नागरिकको योगदानको प्रशंसा गरे । अवलोकनका क्रममा खापुङले मातहतका प्रहरीलाई उच्च मनोवल बनाएर काम गर्न निर्देशन दिए । सो क्रममा कार्यालय पुनर्निर्माणमा अगुवाई गर्ने पदम श्रेष्ठले समुदायस्तरबाट भएको काम कारबाहीका बारेमा जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय दमकको अवलोकनका बेला कोशी प्रदेश सभा सदस्य होमवहादुर थापा, दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाई, नेकपा एमालेका झापा जिल्ला इन्चार्ज रोम ओली, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । इप्रका दमकको अवलोकनपश्चात् प्रहरी महानिरीक्षक खापुङ तेह्रथुम जिल्लातर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्