झापा,असोज २६ । इलामको सूर्योदय नगरपालिकाले यही असोज १८ गते आएको बाढीपहिरोपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा नमुना काम गर्दै आएको छ ।

१९ गते बिहानैदेखि मुख्य मेची राजमार्ग खुलाउन लागेको नगरले हालसम्ममा नगरका १४ वटै वडाको क्षतिगस्त सडक खुलाइसकेको छ ।
नगरले नगर क्षेत्रभित्र मृत्यु भएका परिवारका सदस्यलाई दुई लाखका दरले आर्थिक सहयोग गरिसकेको छ भने ४० बढी विस्थापितलाई प्रारम्भिक चरणको राहत वितरण गरिसकेको नगरका विपद् फोकल पर्सन सिर्जन गदालले जानकारी दिए ।
नगरले तत्कालै प्रकोप व्यवस्था कोष स्थापना गरेको छ । बाढीपहिरो प्रभावितलाई सहयोग गर्नका लागि सुरुमा नगरका कर्मचारी, वडा कर्मचारी र स्वास्थ्यकर्मीले एक दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेका थिए । नगरमा स्थायी र करार गरी २८० जना कर्मचारी छन् । सरदर एक हजारका दरले जम्मा हुँदा दुई लाख ८० हजार रकम कोषमा जम्मा भएको फोकल पर्सन गदालले जानकारी दिए ।
यस्तै नगरभित्र सामुदायिक विद्यालयका सबै प्रकारका शिक्षक र विद्यालय कर्मचारी गरी ५५१ जना छन् । सरदर एक हजारका दरले कोषमा रकम जम्मा हुँदा विद्यालय क्षेत्रबाट पाँचलाख ५१ हजार रुपियाँ जम्मा भएको छ ।
नगरको प्रकोप कोषमा निजी नम्बरी आवाधी(गोलिया) व्यवसायीले नगद एक लाख जम्मा गरेका छन् । यस्तै, छिपिटार टोल विकास संस्थाले नगद १० हजार जम्मा गरेको छ । सूर्योदयका एक व्यक्तिले नाम नखुलाउने सर्तमा नगद ५१ हजार जम्मा गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्