झापा,असोज २७ । गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा देशभरका कारागारबाट १४ हजारभन्दा बढी कैदीबन्दी फरार भए।

यीमध्ये ५७ सय कैदीबन्दी अझै फरार छन्।
आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको ९ सय थान बढी हतियार पनि भेटिएको छैन। लुटिएका हतियार फिर्ता गर्ने र फरार कैदीबन्दी पक्राउ गर्नका लागि प्रहरीले अग्रसरता देखाए पनि सम्भव भएको छैन। प्रहरी प्रधान कार्यालयले दिएको तथ्यांकअनुसार आन्दोलनका क्रममा देशभरबाट १ हजार २ सय ८१ हतियार लुटिएका थिए। यसमध्ये काठमाडौंबाट मात्रै १ हजार १७ थान हतियार लुटिएको हो।
हराएका हतियारमा सटगन १ सय १७ थान, पेस्तोल ३ सय ४६ थान, रिभल्बर ७५ थान छन। करिब १ सय हतियार जलेको र काम नलाग्ने अवस्थामा भेटिएको प्रहरी रेकर्ड छ। हतियारसँगै १ हजार ६ सय ८७ थान गोलीसमेत लुटिएको छ।
जेन—जी प्रदर्शनपछि भएको तोडफोडपछि कारागारबाट भागेका आकाश मगरले ठमेलमा गएर आफ्नै साथीको हत्या गरेका थिए। गत असोज १३ गते मकवानपुर घर भएका २५ वर्षीय सुरज तामाङलाई ठमेलमा खुकुरी प्रहार भएको थियो। ठमेलको ह्याप्पी होटल अगाडि सुरजलाई खुकुरी प्रहार गर्नेमा आकाश मगर रहेका थिए।
प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने आकाश मगर नक्खु कारागारबाट भागेका थिए। लुटपाट र डकैती मुद्दामा कारागार गएका उनी सुरजलाई खुकुरी प्रहार गरी भागेका थिए। उनी भारतमा पुगेको प्रहरीको आशंका छ।
बलात्कार मुद्दामा नक्खु कारागारमा रहेका सन्तबहादुर तामाङ भदौ २४ गते कारागारबाट भागेर काभ्रेका पनौतीमा रहेको घरमा पुगेका थिए। घर पुगेर श्रीमतीसँग विवाद गरेका उनले ३० वर्षीया मनीषा तामाङको हत्या गरेका थिए। श्रीमतीको हत्या गरी करेसाबारीमा गाडेका उनी पुनः नक्खु कारागार पुगेर आत्मसमर्पण गरेका थिए।
नेपाल प्रहरीका विभिन्न कार्यालयबाट लुटिएको हतियारसहित प्रहरीले शनिबार झापाबाट आठ जनालाई पक्राउ ग¥यो। प्रहरीले दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर एको छाप्रोबाट पक्राउ परेका आदित्य लिम्बूको साथबाट हतियार बरामद गरेको हो। उक्त हतियार इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थियो।
काठमाडौंबाट लुटेको प्रहरीको पेस्तोलसहित असोज २१ गते कैलालीबाट एकजना लागुऔषधसहित पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका–१ का २३ वर्षीय आकाश शाहीलाई प्रहरीको टाइप– ५४ लेखिएको चाइनिज पेस्तोलसहित पक्राउ गरेको थियो। उनी लागुऔषध प्रयोग गरेर नशामा लट्ठिएको अवस्थामा फेला परेका थिए।
यी त केही उदाहरणमात्र हुन्। प्रहरीबाट लुटिएका हतियार विभिन्न आपराधिक समूहको हातमा पुगेको देखिन्छ। आन्दोलनका क्रममा घुसपैठ भएको भन्ने हल्ला चलिरहँदा प्रहरीले विभिन्न व्यक्तिहरूलाई पक्राउ पनि गरिरहेको छ। अहिले देशभर अपराधका घटना निकै बढेको छ।
विभिन्न अपराधमा मुछिएका कैदीबन्दी फरार हुन्, प्रहरीका लुटिएका हतियार फिर्ता नहुनु र विभिन्न स्थानमा तोडफोड भएका प्रहरी कार्यालय सञ्चालनमा नआउनु। समाजमा व्यापक असुरक्षा फैलिएको छ। कतिबेला के हुने हो ? कोही अपरिचित व्यक्ति गाउँमा देखिनासाथ शंका गर्नुपर्ने अवस्था छ। समाजमा असुरक्षा बढ्नु र अपराधका घटनामा वृद्धि हुने क्रम यथावत् छ। नागरिकहरू त्रसित छन्।
नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार फरार कैदीबन्दी पक्राउ गर्नु र लुटिएका हतियार फिर्ता गर्नु प्रहरीको पहिलो प्राथमिकता छ। विभिन्न जिल्लामा समिति नै गठन गरेर काम भइरहेको उनले जानकारी गराए। फरार कैदीबन्दी लुकाउने, आश्रय दिने व्यक्तिलाई समेत कानुनी कारबाही गरिनेछ। समाजमा कोही कसैले हतियार लुकाएको थाहा पाएमा वा फरार अभियुक्त देखेमा नजिकको प्रहरीलाई खबर गरिदिनुहुन उनको आग्रह छ।
कारागार व्यवस्थापन विभागले गत भदौ २६ गते एक सूचना जारी गरेको थियो। सूचनामा जेन—जी आन्दोलनका क्रममा कारागारबाट भागेका बन्दीहरू र बाल सुधारगृहबाट भागेका बालबन्दीलाई आफू बसेको कारागारमा फर्केर आउनका लागि आग्रह गरिएको थियो। फर्केर नआउने विरुद्ध कारागार ऐन, २०७९ र प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराइएको थियो। यसलगत्तै प्रहरी प्रधान कार्यालयले पनि फरार कैदीबन्दीलाई कारागारमा सम्पर्क गर्न पटकपटक आग्रह गरेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्