झापा,असोज २७ । यस वर्षको दसैंमा मात्र राष्ट्र बैंकबाट नयाँ तथा सुकिला नोट गरी करिब ५६ अर्ब रुपैयाँ बाहिरिएको छ ।

दसैंका लागि राष्ट्र बैंकले भदौ २९ देखि असोज १० सम्मका लागि सुकिला नोट वितरण गरेको थियो । उक्त अवधिमा राष्ट्र बैंकको केन्द्रीय र क्षेत्रीय कार्यालयबाट सिधै सर्वसाधारणलाई पाँचदेखि १ सय रुपैयाँसम्मका नोट करिब डेढ अर्ब रुपैयाँ सटही भएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट करिब साढे ४ अर्ब सटही भएको छ । सोही अवधिमा राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट गरेर करिब ६ अर्ब रुपैयाँ सुकिला नोट सटही भएको छ ।
सोही अवधिमा राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई करिब ५० अर्ब रुपैयाँ बाहिरिएको छ । राष्ट्र बैंकबाट सिधै, बैंक तथा वित्तीय संस्थामार्फत सर्वसाधारणलाई दिइएको सटही र बैंक तथा वित्तीय संस्थाले लिएको रकम जोड्दा दसैंको समयमा मात्र थप ५६ अर्ब रुपैयाँ बाहिरिएको हो ।
यससँगै चलनचल्तीमा रहेको मुद्रा पनि बढेर आठ खर्ब नाघिसकेको राष्ट्र बैंकले जनाएको छ । यसअघि करिब साढे ७ खर्ब रहेको चलनचल्तीको मुद्रा बढेर ८ खर्बभन्दा बढी पुगेको हो ।
नेपालमा पैसा छाप्ने त्यसको संरक्षण र व्यवस्थापन गर्ने काम राष्ट्र बैंकको हो । राष्ट्र बैंकले सबै अवस्था आकलन गरेर धेरै नोट छापेको हुन्छ । तर, छापिएका सबै नोट एकै पटक बजारमा पठाइँदैन । देशको अर्थतन्त्रको आकार, आर्थिक गतिविधिलगायत पक्ष हेरेर राष्ट्र बैंकले बजारमा कति पैसा आवश्यक छ, त्यो मूल्यांकन गर्छ । र सोहीअनुसार आवश्यक रकम मात्र बैंक तथा वित्तीय संस्थामार्फत बजारमा पठाउँछ । यसरी बजारमा पठाइएका मुद्रालाई चलनचल्तीको मुद्रा भनिन्छ ।
राष्ट्र बैंकले हरेक वर्ष दसैं, तिहार, छठलगायत चाडमा मात्र नभई मागअनुसार सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको छ । दसैं, तिहारमा भने सूचना नै निकालेर राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिँदै आएको छ । दसैं, तिहारमा ६० देखि ९० अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिने गरेको थियो । यसको तुलनामा यस वर्ष दसैंको बेलामा बाहिरिने नोट पनि घटेको जनाइएको छ ।
खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारका अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का, चाँदीका स्मारिका सिक्का र सुनका असर्फी पनि धेरै बिक्री हुँदै आएको छ ।