झापा,असोज २७ । जेनजी प्रदर्शनमा जलेका कागजपत्रको प्रतिलिपि लिनको लागि ट्राफिक प्रहरीले अनलाइन माध्यमबाटै सिफारिस दिने भएको छ ।

ट्राफिक कारबाहीको क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरूमा राखिएका कागजात भदौ २३ र २४ मा भएको प्रदर्शनमा उच्छृङ्खल समूहले आगजनी गरेका थिए ।
सवारी चालक अनुमति पत्र, इजाजत पत्र र सवारी दर्ता किताब लगायतका कागजात पुनः प्राप्तिको लागि अनलाइनमार्फत सिफारिस लिन सकिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । उनले भने– ‘प्रहरी प्रधान कार्यालयको वेबसाइटमार्फत उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रवेश गरेर कागजात हराएमा भन्ने विकल्प क्लिक गरेर फर्म भर्न सकिन्छ ।’
सेवाग्राहीले फारम भरेपछि ट्राफिक प्रहरी कार्यालयले क्युआर कोड सहितको सिफारिस पत्र अनलाइन माध्यमबाट नै पठाउने एसपी सुवेदीले बताए । उनले भने– ‘फारम भरेपछि प्राप्त आवेदन नम्बर चाहिँ सेवाग्राहीले नोट गरेर राख्नुपर्छ ।’
उपत्यका ट्राफिक प्रहरी कार्यालयको सिफारिस लिएर सेवाग्राहीले यातायात व्यवस्था कार्यालयमा गएर आफ्नो कागजात बनाउन सक्छन् । ट्राफिकले दिएको २४ घण्टे पुर्जी वा सिफारिस पत्र देखाएर पनि तत्कालको लागि सवारी साधन सञ्चालन गर्न सकिने एसपी सुवेदीले जानकारी दिए ।