झापा, असोज २७ ।श्री अरिदमन गण चारआली व्यारेकमा सि.नं. १० सैन्य आधार तालिमको अन्तिम दलेल कवाज (दिक्षान्त समारोह) आज सम्पन्न भएको छ ।


२०८१ मंसिर १६ गतेदेखि सञ्चालन भएको सि.नं. १० सैन्य आधार तालिमको अन्तिम दलेल कवाज (दिक्षान्त समारोह) श्री नं. २१ वाहिनी अड्डा तोपगाछीका वाहिनीपति सहायक रथी मनिकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बाहिनीपति सहायक रथी श्रेष्ठले तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने १०५ जना सैन्यहरुलाई बधाई तथा शुभकामना दिनुका साथै तालिम टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण समेत गरेका थिए । दिक्षान्त समारोहलाई सम्बोधन गर्दै बाहिनीपति सहायक रथी श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गौरवमय इतिहास बोकेको नेपाली सेनाले जहिले पनि राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता र राष्ट्रिय एकताको पक्षमा काम गर्नुपर्ने बताए । ‘राष्ट्रको मेरुदण्ड भनेको नेपाली सेना हो, सेनाको मेरुदण्ड भनेको तालिमप्राप्त सिपाही हो त्यसैले नेपाली सेनाले जहिले पनि राष्ट्रप्रति वफादार भई नेपाली सेनाको मूल्य मान्यतालाई आत्मसात गरि नेपाली सेनाको छाती उच्च राख्न सदैव तयार हुनुपर्छ’ भन्दै तालिम प्राप्त सैन्यहरुलाई संबोधन गरेका थिए ।


कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने सैन्यहरुलाई पुरस्कृत समेत गरिएको थियो । श्री अरिदमन गणबाट दिक्षित भएका १०५ जना सैन्यमध्ये पाल्पा रम्भा गाउँपालिका वडा नं. ४ स्थायी घर भएका सैन्य योगेन्द्रबहादुर दिशा उक्त तालिममा सर्वोत्कृष्ट हुन सफल भएका थिए । त्यस्तै ड्रिलमा प्रथम रमेश गुरुङ, दौडमा प्रथम विशेष कार्की, फायरिङमा प्रथम सन्दिप पुन, बाँधापारमा प्रथम टिकाराम राना र कमान्डिङ्ग अफिसर मोटिभेशनमा प्रथम सुमन वाईवा भएका छन् । ९ महिने समयावधिको कठिन सैन्य आधारभूत तालिम पूरा गरेका सिपाहीहरु नेपाली सेनाका विभिन्न युनिटहरुको दरवन्दीमा नियुक्त हुनेछन् ।


दिक्षान्त समारोहमा श्री अरिदमन गणका कर्णेल कमाण्डडान्ट उपरथी सागरबहादुर थापा (अ.प्रा), मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकी, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, वाहिनी अड्डाका अधिकृतहरु, श्री अरिदमन गणका गणपति, अधिकृतहरु, झापा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न कार्यालयका प्रमुख, पत्रकारहरु र दिक्षित भएका सिपाहीहरुका परिवार तथा आफन्तजनहरुको समेत सहभागिता रहेको थियो ।

यसैगरी आज नै नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरुमा गरी जम्मा २ हजार ४०६ जना सैन्यहरु दिक्षित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्