झापा, असोज २८ । तिहार नजिकिदै गर्दा झापामा अवैधरुपमा पटाका भित्रिने क्रम बढेको छ ।

तिहार आउनुअगावै गाउँशहरमा पटाका पड्काउन थालिसकिएको छ । भारतबाट पटाका ल्याउँदै गर्दा दुई दिनअघि धुलावारीमा बरामद गरिएको थियो । असोज २६ गते राति ८ः३० बजे मेचीनगर १० निन्दा पुलमा इलाका प्रहरी कार्यालय धुलाबारको टोलीले बिभिन्न सबारी साधनहरु चेकजाँच गर्ने क्रममा भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको १२ बण्डल खोर्साने पटाका बरामद गरेको थियो । अन्दाजी १५हजार ३६० रुपैयाँ बराबरको पटाका नियन्त्रणमा लिई इप्रका धुलाबारीमा राखिएको छ ।

त्यसको अघिल्लो राति भद्रपुरमा करिव ४ लाख मूल्य बराबरको पटाका र झिलिमिली बल्ब लाइट बरामद भएको थियो । असोज २५ गते राति १०ः२५ बजे भद्रपुर नगरपालिका ५ राई बस्तीमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको बिभिन्न किसिमको पटाका र झिलिमिली लाइट बल्बहरु वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले बरामद गरेको थियो ।

उता असोज २६ गते बिहान सुनसरीको कोशी गाउँपालिका १ बाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट सशस्त्र प्रहरी निरीक्षक मनिषकुमार कटुवालको नेतृत्वमा खटिएको टोलीले करिब ३ लाख मूल्य बराबरको पटाका बरामद गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्