झापा, असोज २८ । झापामा एकैदिन आठ लाख बढीको पटाका बरामद भएको छ ।

आज बिहान ४ः३० बजे भद्रपुर नगरपालिका वडा नं. ३ मेचीपारी सीमा इलाकामा ७ लाख ६६ हजार ८७६ रुपैयाँ बराबरको पटाका बरामद भएको हो । केही अपरिचित व्यक्तिहरुले टाउकोमा बोकेर पैदल ल्याउँदै गरेको बिभिन्न १९ किसिमका ७ बोरा आतिसबाजी (पटाका) सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाबाट खटिएको मोबाईल गस्ती टोलीले बरामद गरेको थियो । प्रहरीलाई देखेर पटाका ल्याउने व्यक्तिहरु सामान छाडेर भागेका थिए ।
आज दिउँसो स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र संचारकर्मीहरुको रोहवरमा गण परिसरभित्र ती पटाका नष्ट गरिएको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलले जानकारी दिएका छन् ।
त्यस्तै आज बिहान ७;३० बजे गौरीगञ्ज ४ हुक्कागाछीमा भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको पटाका २० बन्डल(१००० प्याकेट) बरामद गरिएको छ ।
अन्दाजी ४० हजार बराबरको पटाका प्रहरी टोलीलाई देख्नासाथ सोही ठाउँमा छाडी मानिस फरार भएका थिए । बरामद पटाकाहरु इलाका प्रहरी कार्यालय गौरीगंजमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



