कुमरखोद , असोज २८ । झापा गाउँपालिकामा आजदेखि राहत वितरण कार्य सम्पन्न भएको छ ।

झापा गाउँपालिकामा गत असोज १८ र १९ गते परेको लगातार वर्षाका कारण ३४३२ घरपरिवार बाढीबाट प्रभावित भएका थिए । बाढी प्रभावितमध्ये ३०४२ घरपरिवारले राहत सामग्री पाएको झापा गाउँपालिकाका फोकल पर्सन दिपेन्द्र न्यौपानेले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार तत्काल राहत सामग्री सकिएकोले खरिद प्रक्रियाको लागि कार्यपालिकाको वैठक बसी राहत सामग्री खरिद गरेर छुट भएका घरधुरीलाई राहत वितरण गरिने छ । उनले अहिलेसम्म बाढीपीडितहरुको पुनःस्थापना र राहत सामग्री खरिदमा लगभग ३० लाख रुपैयाँ खर्च भएको बताए ।
यसैगरी झापा गाउँपालिकाका कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलियाका अनुसार मंगलवार ९५३ घरधुरी परिवारलाई राहत सामग्री वितरण गरिएको छ । उनले वडा ३ को ५७७ , वडा ५ को ११३ , वडा ६ को ६५ र वडा ७ को १९८ घरधुरीलाई राहत सामग्री वितरण गरेको बताइन् । राहत वितरण कार्यक्रममा नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना , रेडक्रसकर्मी र विभिन्न संघ संस्थाहरुले सहयोग गरेका थिए ।
झापा गाउँपालिकामा असोज १८ र १९ गते परेको लगातार वर्षाका कारण बाढी प्रभावित क्षेत्रका विद्यालयका विद्यार्थीहरुलाई आज व्याग, शैक्षिक सामग्री र पोशाक वितरण गरिएको छ ।



