झापा, असोज २९ । नेपाल–भारत सीमाबाट १.१९२ केजी ब्राउनसुगरसहित दुईजना कारोबारी पक्राउ परेका छन् ।

भारतको गलगलियामा अखडा खडा गरी नेपालमा लागूऔषध आपूर्ति गर्दै आएका दुई भारतीय कारोबारीलाई भारतकै सुरक्षाकर्मीले आज बिहान पक्राउ गरेका हुन् । पक्राउ पर्नेहरुमा विहार जिल्ला किशनगञ्ज गलगलिया थाना लकडी डिपो गाउँ बस्ने १९ वर्षीय मोहम्मद सौरभ र सोही ठाउँका ५० वर्षीय मोहम्मद मुस्ताक रहेका छन् ।
उनीहरुको साथबाट प्याकिङसहित १.१९२ केजी ब्राउन सुगर ,नेपाली मुद्रा ४ लाख ५१ हजार १७५ ,भारतीय मुद्रा ८३ हजार १९९ , विभिन्न ब्राण्डका स्मार्टफोन ७ थान, किप्याड फोन २ थान,चाँदीका सिक्का दुईवटा , डिजिटल तराजु २ थान र नाइट्राजेपाम ट्याव्लेट १६८ थान बरामद भएको छ ।

४१ औ बटालियन एसएसबी भातगाउँ र गलगलिया प्रहरीको संयुक्त कार्वाहीमा ठूलो परिमाणमा लागूऔषध बरामद भएको थियो । प्रहरी अधीक्षक सागर कुमारको नेतृत्वमा लागूऔषधविरुद्ध अभियान चलाइएको हो । गलगलिया थानाध्यक्ष राकेश कुमारको नेतृत्वमा गलगलिया क्षेत्रमा लागूऔषध कारोबारी विरुद्धको लगातार कारवाहीमा एक दर्जनभन्दा बढी कारोबारी जेल भइसकेका छन् ।