झापा, असोज २९ । प्रहरीले आज पनि दुई लाख मूल्यको पटाका बरामद गरेको छ ।

बिहान ९ः१० बजे झापा गाउँपालिका ४ बेलाइतीवारी सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल बिओपी टाघनडुब्बाबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको १ लाख ५० हजार मूल्य बराबरको बिभिन्न प्रकारका २ बोरा पटाका बरामद गरेको हो । स्थानीय जनप्रतिनिधि तथा नेपाल प्रहरीको रोहवरमा कार्यालय परिसरभित्र खाल्डो खनेर ती पटाका नष्ट गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाले जनाएको छ ।
त्यस्तै आज बिहान १०ः३० बजे गौरादह वडा नं.१ कृषिबजारमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको गस्ती टोलीले गौरीगंजबाट गौरादहतर्फ आउँदै गरेको तल्काल नम्बर नखुलेको मोटरसाइकलमा अबैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको २ बोरा आलुबम खोर्साने पटाका बरामद गरेको छ ।प्रहरी टोलीलाई देखेपछि सामान छाडी मोटरसाइकलसहित मानिसहरु फरार भएका थिए । अन्दाजी ५० हजार मूल्य बराबरको ती पटाका इप्रका गौरादहमा ल्याई राखिएको छ । हिजो मात्र झापामा एकैदिन आठ लाख बढीको पटाका बरामद भएको थियो ।