झापा, असोज ३० । झापाको दमकमा दुईजनाको मृत्यु भएको छ ।

एकजना बेवारिसे व्यक्तिको मृत्यु भएको हो भने अर्का एकजना आश्रितको मानव उद्धार सेवा आश्रममा मृत्यु भएको छ । हिजो दिउँसो ४.४५ बजे दमक ६ पूर्व बसपार्कस्थित स्वामीको रुखमुनि रहेको सिमेन्टको चौतारामा तत्काल नाम, थर, वतन नखुलेको तराई मुलको जस्तो देखिने मागी खाइहिड्ने बर्ष ६५ का पुरुष मानिस उतानो परी मृत अवस्थामा फेला परेका हुन् । उनको शव पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको छ ।
त्यस्तै दमक –२ स्थित मानव उद्धार सेवा आश्रममा एकजना आश्रितको मृत्यु भएको छ । असोज ७ गते कमल –६ काटाचोकबाट तत्काल वतन नखुलेको बर्ष ८९ का डम्बरबहादुर दमाई नाम बताउने वृद्धलाई उद्धार गरी उक्त आश्रममा लगी राखिएको थियो । हिजो विहान ९ बजे ओछ्यानमा सुतेको अवस्थामा उनी मृत फेला परेका थिए । प्रहरीले कानुनी प्रक्रिया पुरा गरि शव पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको छ ।