झापा,असोज ३० । चार वर्षदेखि नेपालमा छोकडा आयात प्रतिबन्ध छ, तर बजारमा छ्यापछ्याप्ती भेटिन्छ ।

अहिले बजारमा यसको मूल्य प्रतिकिलो ४५० रुपैयाँदेखि ८०० रुपैयाँसम्ममा सुकेको छोकडा पाइन्छ । फ्रेस छोकडा प्रतिकिलो १९०० रुपैयाँसम्म पर्ने गरेको छ । आयात प्रतिबन्धित वस्तु यसरी बजारमा खुलेआम रूपमा बजारमा बिक्री भइरहँदा नियमनकारी निकाय मौन रहेको छ । जबकि छोकडा नेपालमा उत्पादन छैन ।
आयात प्रतिबन्ध गरिएको छोकडा भन्सार विन्दुबाट आयात भइरहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । चालु आर्थिक वर्ष २०८२÷८३ को भदौ मसान्तसम्म ६१ लाख ७४ हजार रुपैयाँको १२ हजार ३९० किलो छोकडा आयात भएको विभागले जनाएको छ । उक्त परिमाणमा छोकडा आयात हुँदा १७ लाख १४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
विभागका सूचना अधिकारी किशोर बर्तौला उक्त छोकडा व्यक्तिगत प्रयोजनका लागि मात्र आयात भएको बताउँछन् ।
‘व्यापारिक प्रयोजनका लागि आएको छैन । व्यक्तिले ल्याएको छ । इन्डियाबाट पनि आएको छ । व्यापारी प्रयोजनबाट त रोकावटै छ । त्यो व्यक्तिको नै भए पनि प्रज्ञापनपत्र काट्नु त प¥यो त्यही भएर त्यही डाटा आएको हो । घरेलु प्रयोजनका लागि त ल्याउन पाइयो नि ।’
व्यक्तिगत प्रयोजनका लागि ल्याइएको भए बजारमा कसरी छ्यापछ्याप्ती पाइन्छ पाइयो भन्ने प्रश्नको जवाफमा बर्तौलाले नेपालको खुला सिमाना भएकाले चोरी पैठारीमार्फत ल्याएर बिक्री वितरण भइरहेको बताए ।
भने, ‘नेपालमा उत्पादन हुँदैन । बजारभरि पनि टन्नै छ, कसरी आयो त ? कसरी भन्दा ओपन बोर्डर हाम्रा धेरै ठाउँ छ । इन्डियाको तीन तिरबाट ओपन छ । अब कसरी आयो भन्नु ? चोरी निकासीबाट आयो होला नि त । जति नियन्त्रण गर्छु भने पनि गर्न सकिदैन ।’
इरानबाट २६ लाख १८ हजार रुपैयाँको २८७५ किलो आयात भएको छभने युएईबाट २३ लाख ८७ हजार रुपैयाँको ५५६५ किलो आयात भएको छ । यस्तै भारतबाट ५ लाख ३६ हजार रुपैयाँको २ हजार २२८ किलो, कतारबाट २ लाख ९७ हजार रुपैयाँको ७५४ किलो आयात भएको उल्लेख छ ।
भन्सारको तथ्यांकमा देखिएको व्यापारिक नभएर व्यक्तिगत प्रयोजनका लागि भएको दाबी गरे । साथै चोरी बाटोबाट छोकडा आयात गरेर बिक्री भइरहेको स्वीकारे ।
‘धेरै ठुलो क्वान्टिटी छैन । यदि व्यापारीले ल्याएको हो भने त्यहाँ इम्पोर्टरको नामसहित आइहाल्थ्यो । यो व्यक्तिगतमा आएको हो । तर बजारमा पाइन्छ म स्वीकार्छु ।’
तिहारमा भाइमसलाको रूपमा प्रयोग हुने भएकाले यो सिजनमा बजारमा छोकडा झनै छ्यापछ्याप्ती पाइने उनको भनाइ छ । छोकडा चोरी पैठारी हुँदा ठुलो परिमाणमा राजस्व गुमेको हुनसक्ने र चोरी पैठारी रोक्न छलफल गरेर अघि बढ्ने उनको भनाइ थियो ।
२०८२ भदौ मसान्तसम्ममा कुल आयात भएको कुल छोकडामध्ये सबैभन्दा ठुलो परिमाणमा इरान र युएईबाट आयात भएको छ ।
इरानबाट २६ लाख १८ हजार रुपैयाँको २८७५ किलो आयात भएको छभने युएईबाट २३ लाख ८७ हजार रुपैयाँको ५५६५ किलो आयात भएको छ । यस्तै भारतबाट ५ लाख ३६ हजार रुपैयाँको २ हजार २२८ किलो, कतारबाट २ लाख ९७ हजार रुपैयाँको ७५४ किलो आयात भएको उल्लेख छ ।
यस्तै साउदी अरेबियाबाट १ लाख ६८ हजार रुपैयाँको ४७८ किलो, कुवेतबाट ९९ लाख रुरपैयाँको २९० किलो, ओमानबाट १६ हजार रुपैयाँको ४५ किलो, मलेसियाबाट १ हजार रुपैयाँको २ किलो आयात भएको छ ।
यसैगरी चीनबाट ३३ हजार रुपैयाँको १२ किलो, एन्डोराबाट २ हजार रुपैयाँको ५ किलो, बहराइनबाट १४ हजार रुपैयाँको ४६ किलो, अमेरिकाबाट १ हजार रुपैयाँको १ किलो र क्यानडाबाट १ हजार रुपैयाँको १ किलो आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।