झापा,असोज ३० । जेन–जी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न तत्काल पार्टीभित्रको पुनर्गठन आवश्यक भएको ठहर गर्दै कांग्रेसमा विशेष महाधिवेशनको माग गरिएको छ ।

कांग्रेसका युवा नेताहरूको पहलमा विधानको धारा १७ (१) अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरिएको हो ।
महाधिवेशन प्रतिनिधिहरूका तर्फबाट युवा नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, सुरेन्द्रप्रसाद चौधरी, सुवासकुमार पोखरेल, उज्ज्वल बराल, रमेशप्रसाद धमला, दिक्पाल शाही, भरत खड्कासहित १७ जनाको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर विशेष महाधिवेशनको निवेदन दर्ता गराएका हुन् ।
उनीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन बोलाउनुपर्नाको कारणबारेको पत्र र पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरको सूची बुझाएका छन् । पार्टीको नीति, नेतृत्व र संरचनाबारे गहन छलफल र आत्मसमीक्षाका लागि केन्द्रीय कार्यसमितिको सीमित निर्णय अपर्याप्त रहेकाले नियमित वा विशेष महाधिवेशन मात्रै अहिलेको विकल्प भएको उनीहरूको भनाइ छ ।
कांग्रेसमा १४ औं महाधिवेशनका प्रतिनिधिको संख्या ४ हजार ७ सय ४३ छ । त्यसमध्ये निधन भएका र पार्टी छाडेकाको संख्या १ सय २८ छ । विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गर्नेको संख्या २४ सय ८८ पुगेको नेता गुरुराज घिमिरेले बताए । यसरी हेर्दा विशेष महाधिवेशनका लागि कुल महाधिवेशन प्रतिनिधिमध्ये ५३.९१ प्रतिशतले हस्ताक्षर गरेका छन् । ०७९ मंसिरमा भएको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा ६० प्रतिशत मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेलाका देउवाका प्रतिस्पर्धी शेखर कोइरालाले ४० प्रतिशत मत प्राप्त गरेका थिए ।
सभापति र उनी पक्षधर नेताहरू विरोधमा हुँदाहुँदै पनि विशेष महाधिवेशनको पक्षमा बहुमत प्रतिनिधिहरूको हस्ताक्षर पुगेको हो । विशेष महाधिवेशनका लागि निवेदन दर्ता हुनुअगाडि नै देउवाले कार्यकारी भूमिकाबाट विश्राम लिएका छन् । उनले मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय लिएका थिए । साथै देउवाले तोकिएको समयभित्रै महाधिवेशन गराउन कार्यवाहक सभापतिको ध्यानाकर्षण पनि गराएका थिए ।
महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको पक्षमा बहुमत प्रतिनिधि उभिएको पृष्ठभूमिमा सभापति देउवाले समयको स्वरलाई सम्बोधन गर्दै कार्यकारी भूमिका छाडेर बिदा भएको बताए । देउवाको बिदाइपछि नयाँ परिस्थितिमा संयम र एकतासाथ मध्यमार्गी सोच र परिपक्वताका साथ पार्टीलाई सुधार गरेर अघि बढ्ने दायित्व आफूहरूको काँधमा आएको शर्माले बताए ।
‘जेन–जी प्रदर्शनको जायज मागलाई सम्बोधन गरिनुपर्छ, आफैं भौतिक आक्रमणमा परेर पनि कुनै आवेगबेगर हार्दिक रूपमा सभापति शेरबहादुर देउवाले ‘व्यक्तिगत वा समूहगत मतभेदभन्दा माथि उठेर अबको बाटो पहिल्याउनुपर्छ’ भनेर भन्नुभयो । कार्यसमितिमा बहुमत थियो र छँदै छ । तर दिनुभयो कार्यवाहक र जानुभयो हामी सबैलाई आगामी यात्राको परीक्षा सुम्पेर,’ शर्माले भने, ‘समयको स्वरलाई सम्बोधनको यो कर्मप्रति हृदयदेखि सम्मान । यो कर्मको आत्मसात् गर्दै अब नयाँ ढंगले जुट्नुपर्छ । इतिहासमा आर्थिक विश्वसनीयता पुनर्पुष्टि गर्ने दायित्व अब संयम र एकतासाथ मध्यमार्गी सोचले सम्हाल्ने परिपक्वता हामीले राख्नुछ ।’
विशेष महाधिवेशन बोलाउन कांग्रेस विधानमा दुई वटा प्रक्रिया छन् । एउटा केन्द्रीय कार्यसमिति आफैंले आवश्यकता ठानेर विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था छ । अर्को चालीस प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरमार्फत प्रक्रिया अघि बढाउन सकिने व्यवस्था छ । चालीस प्रतिशत हस्ताक्षरसहित विशेष महाधिवेनको माग भएमा तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी व्यवस्था विधान छ ।