झापा, असोज ३० । झापाको गौरादहमा खोलामा डुबेर एकै घरका दुईसहित तीन बालिकाको मृत्यु भएको छ ।


आज दिउँसो अन्दाजी १ः१० बजे स्थानीय कृष्ण खोलामा जमेको पानीमा माछा मार्न गएका बालिकाहरुको डुबेर मृत्यु भएको हो ।

गौरादह–९ खजुरबारी बस्ने अन्नु मगरकी छोरी बर्ष ९ की स्वीकृति मगर र उनकी बहिनी बर्ष ७ की सुष्मा मगर , सोही ठाउँ बस्ने रोमन (मोते) परियारकी छोरी बर्ष–११ की रोश्नी परियार र राजकुमार राईकी छोरी बर्ष अन्दाजी १० की युनिसा राई खोलामा जमेको पानीमा माछा मार्न गएका थिए । संगै गएका तीनजना पानीमा डुबेको देखेपछि युनिसा राईले घरमा गई अभिभावकलाई जानकारी गराएकी थिइन् । अभिभावकहरु आई पानीबाट बाहिर निकाल्दा तीनै जनाको मृत्यु भइसकेको थियो ।

घटनाबारे स्थानीयले अस्थाई प्रहरी चौकी बैगुनधुरामा जानकारी गराएका थिए । प्रहरी सहायक निरीक्षक बेनुप्रसाद ढकालको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको. थियो । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इप्रका झिलझिलेबाट प्रहरी निरीक्षक सुशिल थापा मगरको कमाण्डमा प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्