झापा,कात्तिक १ । सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आज यसपालिको दीपावली (तिहार) पर्व सुरु गरिँदै छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाइने तयारी छ ।
जनबोलीमा ‘दिपावली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ समान जोडेर लक्ष्मीको आराधना गर्दै ‘धनतेरस’ पर्व मनाइने तयारी छ । सामान्यतया पाँच दिनको यो पर्व यसपालि तिथिको भोग घटबढले छ दिनको भएको छ । आज अपराह्न १३ः२३ पछि त्रयोदशी लाग्नेहुँदा यसै तिथिको साँझ आज ‘धनतेरस’ मनाइने भएको हो ।
आज अपराह्न १३ः२३ सम्म द्वादशी तिथिको भोग रहे पनि त्यसपछि त्रयोदशी तिथि सुरु हुने भएको हुँदा आजै धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ । ‘धनतेरस’ लक्ष्मीकै आराधना भएको र यो सन्ध्याकालदेखि गरिने चलन छ ।
चाडपर्व र तिथि प्रयोजनसँग जोडिने कार्यहरू विद्यापति र मिथिला पञ्चाङ्गका आधारमा निर्णय गर्ने चलन छ । अपराह्न नै त्रयोदशी सुरु भएर आजै ‘धनतेरस’ मनाइए पनि यसै तिथिको कागपूजा भने भोलि आइतबार नै हुनेछ । यसैगरी लक्ष्मीपूजा र गाईपूजा पनि एकदिन अघिपछि परेको छ । सामान्यतया दिपावलीको पहिलो दिन त्रयोदशी तिथिमा कागपूजा र धनतेरस एबम् औँसीमा गाईपूजा र सन्ध्यापछि लक्ष्मीपूजा गरिने चलन हुन्छ । तर यसपालि रातको औँसी सोमबार नै परेको हुँदा सोही दिन लक्ष्मीपूजा गरिने छ ।
यसपालि तिथिको भोग घटबढले फरकफरक दिन (एकदिन अघिपछि) यी पर्वविधि गरिनु पर्ने भएको हो । धनतेरस आज र भाइटीका आउने बिहीबार परेको हुँदा पाँच दिनको भनिने ‘यमपञ्चक’ यसपालि एक दिन बढेर छ दिनको भएको हो ।