झापा,कात्तिक १ । मलेसियामा भएको आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगिता पदक जितेका नेपाली खेलाडी तथा अफिसियललाई सम्मान गरिएको छ ।

काठमाडौंको डाँछीमा रहेको नेप्लिज तेक्वान्दो एकेडेमीले खेलाडी तथा अफिसियललाई शनिबार सम्मान गरेको हो । एकेडेमीको तर्फबाट शंकरापुर अस्पतालका मेडिकल डाइरेक्टर डा. रमेश ढकालले खेलाडी तथा अफिसियललाई सम्मान प्रदान गरे ।
सम्मानित हुने खेलाडीमा स्वर्ण विजेता केनिश खड्का, गोविन्द योन्जन तामाङ र आयुश बोहरा, रजत विजेता सन्दीप बस्नेत रहेका छन् । टोलीका प्रशिक्षक श्रीकृष्ण खड्का, म्यानेजर गणेशबहादुर खड्का र टोली प्रमुख महेन्द्रराज घिमिरेलाई पनि सम्मान गरियो ।
नेपाली खेलाडी तथा अफिसियललाई प्रोत्साहनस्वरूप सम्मान गरिएको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक अशोक खड्काले बताए ।
मलेसियामा भएको उक्त प्रतियोगितामा अशोक पनि निर्णायकको रूपमा सहभागी थिए । उनी प्रतियोगिताको उत्कृष्ट निर्णायक घोषित भएका थिए ।