बिर्तामोड, कात्तिक २ । आसन्न निर्वाचनबारे अन्य दलहरु अन्यौलमा रहिरहँदा रास्वपा झापा भने निर्वाचनको तयारीमा जुटेको छ ।

निर्वाचन आयोगले तोकेको फागुन २१ गते नै निर्वाचन हुने विश्वासका साथ रास्वपाले तयारी सुरु गरेको हो । सुरुवातमा रास्वपा झापाले ५ वटै निर्वाचन क्षेत्रका समितिको बिस्तारित बैठक गरी निर्वाचनको प्रारम्भिक तयारी थालेको हो । हालसम्म १, २ र ३ नम्बर क्षेत्रको बिस्तारित बैठक गरिसकेको रास्वपाले तिहारपछि बाँकी रहेका २ वटा निर्वाचन क्षेत्रको बैठक बोलाउने जिल्ला सचिव शम्भु सुस्केराले जानकारी दिए । जिल्लाले क्षेत्रीय समिती बैठकमार्फत निर्वाचन क्षेत्रमा रहेका सबै बुथहरुमा कात्तिक मसान्तभित्रै बुथ समिति निर्माण गरिसक्न निर्देशन दिएको छ । अघिल्लो निर्वाचनमा जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार उठाएको रास्वपाले यस पटक भने तीब्र तयारीका साथ उम्मेद्वार उठाउन लागेको हो । जिल्लामा हाल रास्वपाका २० हजार बढी सदस्य रहेका छन् ।
यसैबीच रास्वपा झापाले स्वतन्त्र व्यक्ति र समूहलाई पार्टीमा ल्याउन संवाद समिति गठन गरेको छ । कार्यबाहक जिल्ला सभापति प्रकाश पाठकको संयोजकत्वमा ५ सदस्यीय संवाद समिति गठन गरिएको हो । समितिमा केन्द्रीय संगठन विभागका सदस्य ओमनाथ भण्डारी, केन्द्रीय विभागीय सदस्य शरद जोशी, प्रदेश सदस्य नारायण घिमिरे र जिल्ला सचिव शम्भुप्रसाद ढकाल रहेका छन् । समितिलाई स्वतन्त्र व्यक्ति र समूहसंग वार्ता गरी पार्टीमा भित्र्याउने अधिकार प्रदान गरिएको छ ।
स्वतन्त्र व्यक्ति, समूह र रास्वपा छरिएर निर्वाचनमा होमिदा त्यसको फाइदा पुराना दलहरुलाई भएको भन्दै यस्ता शक्ति एक भएर आसन्न निर्वाचनमा होमिनुपर्ने रास्वपाको ठहर छ । अघिल्लो चुनावमा स्वतन्त्र व्यक्ति, समूह र रास्वपा छरिएर निर्वाचन लड्दा काग्रेस र एमालेलाई १७ सिट फाइदा भएको थियो ।