झापा, कात्तिक २ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार जहीतही भेटिन थालेको छ ।

खेतवारी , दाउराको चाङ, बाटोलगायतका ठाउँमा लुटिएका हतियार र गोली भेटिएको हो । हिजो दिउँसो दमक नगरपालिका ३ बस्ने ४५ वर्षीया माला डाँगीले दाउरा पन्छाउने क्रममा उनको दाउराको चाङमा एसएलआर राइफलको ७.६२ एमएमको तीन राउण्ड गोली फेला परेको छ । इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएर ती गोली लिएर आएको छ ।
दुई दिनअघि एक थान गोली भेटिएको थियो । शुक्रवार बिहान १०ः३० बजे दमक नगरपालिका वडा नं. ८ लक्ष्मी मार्ग बस्ने ३८ वर्षीय कृष्णप्रसाद पाठकले बाटोमा बेवारिसे अवस्थामा एसएमजीको ९एमएमको १ राउण्ड गोली फेला पारेका थिए ।
त्यस्तै असोज २६ गते बिहान ७ः३० बजे दमक –५ धनेश्वर मन्दिरको पूर्वपट्टीको गेटनजिक इप्रका दमकबाट लुटिएको एकथान ३०३ राईफल म्यागजिनसहित फेला परेको थियो ।
त्यसको दुई दिनअघि असोज २४ गते साँझ जेनजी आन्दोलनका क्रममा लुटिएका एसएलआरको ५५ राउण्ड गोली कमलमा फेला परेको थियो ।
कमल गाउँपालिका वडा नं.–७ रंगपुर बस्ने ५५ वर्षीय गंगाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा आफ्नो खेतबारीमा सेतो बोरामा गोली फेला पारेका थिए । उनले बोरा खोली हेर्दा गोली भेटिएको थियो ।
जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार , ५६९० वटा गोली र १८० सेल अश्रुग्यास गायव भएको थियो । त्यसमध्ये एउटा हतियार र ५९ राउण्ड गोली भेटिएको हो ।