झापा, कात्तिक २ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ नेल्टा झापाले चाडपर्व विशेषको अवसर पारी शनिबार शुभकामना आदानप्रदान तथा नयाँ सदस्यलाई स्वागत गरेको छ।


नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेल्टाका कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई, बुद्धशान्ति गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमल निरौला, बिर्तामोड नगर शिक्षा अधिकृत जानुका काफ्ले ,इस्ट होराइजन बोर्डिङ स्कुल धुलाबारीका प्रिन्सिपल सञ्जीव राई ,इडन गार्डेन फाउन्डेसनका प्रिन्सिपल मोहन आचार्य ,इक्यान झापाका अध्यक्ष रोशन सुवेदीलगायतले चाडपर्वहरूको शुभकामना व्यक्त गर्नुका साथै नेल्टा झापाले गरेका शैक्षिक क्रियाकलापको खुलेर प्रशंसा गरेका थिए ।

उनीहरुले नेल्टाले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आएको र भविष्यमा समेत शिक्षकको पेशागत विकास तथा गुणस्तरीय शिक्षाका लागि सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाए ।सोही कार्यक्रममा नेल्टा कोशीका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईले नयाँ सदस्यहरूलाई स्वागत गर्दै नयाँ सदस्यहरूको भूमिका र कर्तव्यका बारेमा जानकारी गराएका थिए । झापामा यस वर्ष मात्र १५ जना अंग्रेजी शिक्षकहरूले नेल्टाको आजीवन सदस्यता प्राप्त गरेका छन्। उनीहरूलाई खादा र अविर लगाइदिएर स्वागत गरिएको थियो।

सोही अवसरमा नेल्टा झापाका सचिव केशव उप्रेतीले भर्खरै मलेसियामा सम्पन्न ३३ औँ मेल्टा सम्मेलनमा सहभागी भई प्रस्तुत गरेको कार्यपत्रको अनुभव सुनाएका थिए । कार्यक्रमका अध्यक्ष प्रकाश पराजुलीले नेल्टाले आफ्नो कार्यकालमा भए–गरेका कार्यक्रमहरूको चर्चा गर्नुका साथै आगामी दिनमा गर्नुपर्ने कार्ययोजना प्रस्तुत गरेका थिए ।

सो अवसरमा झापा नेल्टाका जिल्ला समिति पदाधिकारीहरू, सल्लाहकार समितिका सदस्यहरू, आजीवन सदस्यहरू र नवआगन्तुक सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा देउसी भैलो कार्यक्रमसहित जलपान समारोहको आयोजना गरिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्