बिर्तामोड,कात्तिक २ । प्रेस चौतारी नेपाल झापाले पत्रकारको सुरक्षा, स्वतन्त्रता र निष्पक्ष पत्रकारिताको वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासन र सम्बन्धित निकायसँग माग गरेको छ ।

आइतवार अध्यक्ष प्रदीप परियारको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं झापा जिल्ला इन्चार्ज माधव विद्रोहीको प्रमुख आतिथ्यमा भएको बैठकले माग गर्ने निर्णय गरेको हो ।
बैठकले गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारी र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
जिल्ला सचिव युवराज आचार्यले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा जेनजी आन्दोलनपश्चात् देशभरका सञ्चारकर्मी र सञ्चार माध्यमहरू असुरक्षित बन्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ ।