हाम्रो पवित्र माटोमा इतिहास रचिने बेला आइपुगेको छ । नेपाली महिला फुटबलको सुनौलो अध्याय लेखिन लागेको यो पावन घडीमा हामी सबै साक्षी बन्न पाउँदा गौरवान्वित मात्र होइन, भाग्यशाली पनि छौं । यो केवल एउटा खेल प्रतियोगिता मात्र होइन, यो हाम्रा छोरीहरूको सपना, प्रतिभा र आत्मविश्वासको उत्सव हो । यो त्यो ऐतिहासिक क्षण हो जहाँ हरेक किक, हरेक गोल र हरेक जीतले नयाँ नेपालको कथा सुनाउनेछ ।

यो महान् प्रतियोगिता सम्भव बनाउन आयोजक र प्रायोजकहरूको अथक प्रयास र दूरदर्शी सोचलाई सलाम गर्नुपर्छ । उहाँहरूले केवल प्रतियोगिता आयोजना गर्नुभएको होइन, एउटा आन्दोलनको थालनी गर्नुभएको छ । जब अरू ठाउँमा खेलकुदलाई व्यापारिक प्रदर्शन र मनोरञ्जनमा मात्र सीमित गरिन्छ, यहाँका आयोजकहरूले खेललाई सामाजिक परिवर्तनको शक्तिशाली माध्यम बनाएका छन् । उहाँहरूको यो पहल महिला सशक्तीकरणको जीवन्त उदाहरण हो । नगरपालिकाको उदार सहयोग र सकारात्मक सोचले यो प्रतियोगिता साकार रूप पाएको छ । स्थानीय निकायको यस्तो उत्कृष्ट संलग्नता र जिम्मेवारी नै वास्तविक विकासको पहिलो सिँढी हो, र यसले समुदायमा सकारात्मक परिवर्तनको लहर ल्याउने निश्चित छ ।

यो प्रतियोगिताले हाम्रा युवतीहरूलाई खेलको मैदानमा मात्र होइन, जीवनका हरेक क्षेत्रमा अगाडि बढ्ने प्रेरणा दिनेछ । यसले समाजमा महिलाहरूको भूमिकालाई नयाँ उचाइमा पुर्‍याउनेछ । आज यहाँ जे देखिरहेको छ, त्यो केवल फुटबल होइन, यो आशा, साहस र सम्भावनाको उज्यालो भविष्य हो । यो त्यो माध्यम हो जसले हाम्रा छोरीहरूलाई आफ्नो सपना पूरा गर्न सक्छु भन्ने विश्वास दिलाउँछ ।

चुरेको काखमा बसेको हाम्रो यो भूमिमा आफ्नो क्षमता प्रस्तुत गर्न आतुर चेलीहरू, जसले वर्षौंदेखि मैदानमा पसिना बगाएका छन्, अब आफ्नो सीप देखाउने मञ्च पाउँदैछन् । हाम्रै अस्तित्वका लागि लड्ने झापा महिला फुटबल क्लब त्यस्तै त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लबदेखि सङ्कटा महिला फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड महिला क्लब अनि पोखराको आर एस फुटबल क्लबसम्म, हरेक टोलीमा छन् ती योद्धाहरू जसले नेपाली महिला फुटबललाई नयाँ उचाइमा पुर्‍याउने सपना देखेका छन् ।

त्यस्तै, पश्चिम सिक्किमको आँगनमा हुर्केको सिङ्लिङ क्लबका खेलाडीहरू जब यहाँको माटोमा आउँछन्, उनीहरूसँगै सिक्किमको विकासको कथा पनि आउनेछ । यो केवल खेल होइन, यो भावनात्मक पुनर्मिलन हो, यो साझा विरासतको उत्सव हो र यो सिक्ने र सिकाउने पलहरूको संगम हो ।

तर यो अवसरमा हामीले एउटा महत्वपूर्ण कुरा बिर्सनु हुँदैन । हाम्रा नेताहरूको खोक्रो भाषण, आडम्बरपूर्ण ढोङ र शब्दजालमा मात्र सीमित रहने विकासका कुराले अब जनतालाई छक्क पार्न सक्दैन । वर्षौंदेखि एउटै भाषण, एउटै वाचा र एउटै असफलताको कथा सुनेर हामी वाक्क छौं, दिक्क छौं । विकासको नाममा भएका रित्तो प्रतिज्ञाहरूले जनताको विश्वास तोडिसकेको छ ।

यस्तै बेला, हाम्रा सिक्किमेली दिदीभाइहरूको विकासको गाथा हामीले आँखा खोलेर हेर्नुपर्छ । एउटै भाषा, एउटै संस्कृति, एउटै रगतको धड्कन बोकेका हामीहरू, तर विकासको यात्रामा कति फरक छौं । सिक्किमले विकासको दूरदर्शिता देखाएको छ, त्यहाँका नेताहरूले शब्द होइन, काम देखाएका छन् । सडक, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद हरेक क्षेत्रमा सिक्किमले फडको मारेको छ ।

यो प्रतियोगितामा सिक्किमका पाहुनालाई आमन्त्रित गर्नु केवल औपचारिकता होइन, यो हाम्रो सिक्ने इच्छाको प्रतीक हुनुपर्छ । उनीहरूको भाषण सुन्दा हामीलाई थाहा हुनेछ कि विकास कसरी गरिन्छ, जनताप्रति जवाफदेहिता कस्तो हुन्छ र दीर्घकालीन दृष्टिकोण कसरी बनाइन्छ । हाम्रा नेताहरूले पनि सिक्नुपर्छ कि भाषणको मिठास होइन, कामको मिठासले जनताको मन जित्छ ।

अब टिकटको कुरा गर्नुपर्‍यो । यो महिला फुटबल प्रतियोगिता सबैको लागि हुनुपर्छ, केवल सम्पन्नहरूको मनोरञ्जन होइन । गरिब किसानको छोरीले पनि हेर्न पाउने, मजदुरको छोराले पनि आफ्ना दिदीबहिनीलाई खेलेको देख्न पाउने, विद्यार्थीले पनि आफ्नो खल्ती खर्चबाट टिकट किन्न सक्ने, त्यस्तो मूल्य निर्धारण हुनुपर्छ । खेल जनताको हो, जनताका लागि हो । यदि टिकटको मूल्यले साधारण नेपालीलाई मैदानबाट टाढा राख्यो भने, यो प्रतियोगिताको उद्देश्य नै असफल हुन्छ ।

महमाई र कनकाई माईको आशीर्वाद, सताक्षी माताको कृपा, चिल्लागढ र दोमुखाको पवित्रता, माईधारको किरात खिजोलिङ माङहिमको ऊर्जा, झिलझिलेको ऐतिहासिक बौद्ध गुम्बाको शान्ति, हाम्रा पुरातन चर्चहरूको आध्यात्मिकता र डेढ शताब्दी पुरानो शिवगञ्जको दुर्गा मन्दिरको शक्ति – यी सबैको संगम यो प्रतियोगितामा हुनेछ । हाम्रो सांस्कृतिक धनी सम्पदा र खेलकुदको उत्कृष्टता एकसाथ प्रस्तुत हुने यो दुर्लभ अवसर हो ।

तर यो प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने, यसले स्वच्छ खेलको संदेश दिइरहेको छ । जब अन्य ठाउँमा रक्सी, बियर, चुरोट, गुटखा र खैनी जस्ता विषालु पदार्थहरूको विज्ञापनले खेल मैदानलाई घेरेको हुन्छ, हाम्रो यो प्रतियोगिताले त्यस्ता विकृतिहरूलाई अस्वीकार गरेको छन। यो हाम्रो नैतिक विजय हो, यो हाम्रो सामाजिक प्रतिबद्धता हो ।

लागूपदार्थले हाम्रो समाजमा के गरेको छ? कति घर भत्किएका छन्, कति सपना चकनाचुर भएका छन्, कति आमाको आँखा सुकेका छन् । हाम्रा युवाहरू जब लागूपदार्थको दलदलमा डुब्छन्, त्यो केवल एक व्यक्तिको पतन होइन, सम्पूर्ण समाजको क्षति हो । यो प्रतियोगिताले ती विकृतिहरू विरुद्ध बलियो सन्देश दिइरहेको छ – हाम्रा छोरीहरू स्वस्थ शरीर, स्वच्छ मन र दृढ संकल्पले सफलताको शिखरमा पुग्न सक्छन् ।

बालश्रमको विरुद्ध पनि यो प्रतियोगिताले आवाज उठाइरहेको छ । जब हाम्रा बालबालिकाहरू होटल, भट्टीमा काम गरिरहेका हुन्छन्, जब उनीहरूको बाल्यकाल लुटिइरहेको हुन्छ, तब यस्ता खेलकुद कार्यक्रमहरूले उनीहरूलाई शिक्षा र खेलकुदको महत्व सम्झाउँछन् । प्रत्येक बालबालिकालाई खेल्ने, पढ्ने र सपना देख्ने अधिकार छ ।

विजेताले नगद दश लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउने यो प्रतियोगिता नेपाली महिला फुटबलको इतिहासमै सर्वाधिक पुरस्कार राशि भएको प्रतिस्पर्धा हो । सर्वोत्कृष्ट खेलाडीलाई एक लाख पचास हजार रुपैयाँको सम्मान । यो रकम होइन, यो हाम्रा छोरीहरूको प्रतिभाको मूल्यांकन हो, उनीहरूको मेहनतको सम्मान हो ।

सिक्किमबाट आउने हाम्रा पाहुनाहरूलाई हार्दिक स्वागत गर्न हामी तयार छौं । फस्ट जनवरीको पिकनिक मात्र होइन, यो प्रतियोगिताले नियमित पर्यटकीय आदानप्रदानको सुरुवात गर्नेछ । हाम्रो संस्कृति, हाम्रो आतिथ्य र हाम्रो खेल प्रेमले सबैलाई मुग्ध पार्नेछ । सिक्किमका पर्यटकहरू जब हाम्रो यहाँ आउँछन्, उनीहरूले केवल खेल मात्र होइन, हाम्रो धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा पनि अनुभव गर्नेछन् ।

अब समय आइपुगेको छ कि हामी सबै मिलेर यो ऐतिहासिक प्रतियोगितालाई सफल बनाउनुपर्छ । आयोजकदेखि दर्शकसम्म, प्रत्येक व्यक्तिको जिम्मेवारी छ । हाम्रो सहयोग, हाम्रो उत्साह र हाम्रो सकारात्मक उपस्थितिले यो प्रतियोगितालाई अविस्मरणीय बनाउनेछ ।

यस ऐतिहासिक यात्रामा संलग्न सबैलाई हार्दिक धन्यवाद र शुभकामना । तपाईंहरूको योगदान कहिल्यै बिर्सिने छैन । यो प्रतियोगिताबाट सिर्जना हुने हरेक पल, हरेक स्मृति नेपाली खेलकुदको इतिहासमा स्वर्णाक्षरले लेखिनेछ । यो प्रतियोगिता केवल नेपाली महिला फुटबलको इतिहासमा मात्र होइन, हाम्रो सामाजिक चेतनाको इतिहासमा पनि अर्को सुनौलो अक्षरले कोरिनेछ ।

स्वच्छ खेल, स्वस्थ समाज र सशक्त महिलाहरूको यो उत्सवमा हामी सबै सहभागी बनौं । हाम्रा छोरीहरूलाई प्रोत्साहन दिऔं, उनीहरूको हौसला बढाऔं र नेपाली महिला फुटबललाई नयाँ उचाइमा पुर्‍याउने यो ऐतिहासिक यात्रामा साथ दिऔं । खेल मैदानमा भेटौं, इतिहास रचौं र नेपाली महिला फुटबललाई गौरवको शिखरमा पुर्‍याऔं ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्