झापा, कात्तिक ३ । प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका २४ वर्षीय कृषि विद्यार्थी विपिन जोशीको शव आज काठमाडौं आइपुगेको छ।

प्रधानमन्त्री सुशीला कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विपिनको शवमा श्रद्धाञ्जली दिएकी छिन्। उनको साथमा मन्त्रिपरिषद्का सदस्यहरू पनि उपस्थित थिए। नेपाली सेनाले विपिनको शवलाई अन्तिम दाहसंस्कारको लागि महेन्द्रनगर लगिएको छ।
७ अक्टोबर २०२३ मा हमासले विपिनलाई गाजापट्टीसँग सीमा जोडिएको इजरायलको दक्षिणी क्षेत्र अलुमिम किवुजबाट बन्धक बनाएर लगेको थियो। एक महिनापछि इजरायली सेनाले विपिनको जीवित भिडियो फेला पारेको थियो।
इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरण अनुसार बन्धक र प्यालेस्टाइनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले गत सोमबार विपिनको शव हस्तान्तरण गरेको थियो। तेलअबिबस्थित नेशनल सेन्टर अफ फरेन्सिक मेडिसिनले डीएनए परीक्षण गरी शव विपिनको भएको पुष्टि गरेको छ।
परिवारलाई प्राप्त पत्रअनुसार विपिनको टाउकोमा लागेको गोलीले मृत्यु भएको दाबी गरिएको छ। तर, उनले कहिले, कहाँ र कुन अवस्थामा मृत्यु भयो भन्ने स्वतन्त्र पुष्टि अझै भएको छैन।
इजरायल र हमासले एक अर्कामा आरोप लगाएका छन्। हमासको दाबी अनुसार इजरायली हवाई आक्रमणमा विपिन मरेका हुन् भने इजरायलले विपिनको हत्या हमासले गरेको दाबी गरेको छ। हमासले २५१ जना बन्धक बनाएको थियो, जसमध्ये इजरायलले ३३ जना बन्धकको शव बुझेको छ।