झापा, कात्तिक ४ । करिव एक महिनाअघि बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ ।

घाइते भई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार गराई तीन दिनअघि घर लगिएका साइकलयात्री झापा गाउँपालिका वडा न.२ बस्ने ५० वर्षीय पिन्टु राजवंशीको आज बिहानको राति २ः१० बजे मृत्यु भएको हो ।
गत असोज ५गते बिहान ८ः५० बजे बिर्तामोड वडा न.२ भाटभटेनी सुपर मार्केटस्थित पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको अर्जुनधारा ५ बस्ने १७ वर्षीय अनुज राजवंशीले चलाएको प्र १–०१–१७ प २५८ न.को मोटरसाइकलले साइकलयात्री पिन्टु राजवंशीलाई ठक्कर दिएको थियो । शरीरको बिभिन्न भागमा चोट लागेर घाइते भएका पिन्टुलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो ।
मोटरसाइकल चालक अनुज राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टमपश्चात् मृतकका आफन्तले शव बुझिलगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।