झापा, कात्तिक ४ । झापामा २ हजार ६२२ नयाँ मतदाता थपिएका छन् ।

तिहारको विदा हुनु अघिल्लो दिनसम्म त्यति नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । असोज १२ देखि असोज मसान्तसम्म २ हजार ३९५ र तिहारको अघिल्लो दिन कात्तिक २ गते २२७ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताए । यसअघि झापामा ६ लाख ८० हजार ३७१ जना मतदाता रहेकोमा अब मतदाता संख्या ६ लाख ८२ हजार पुगेको छ ।

देशभर ७० हजार नयाँ मतदाता थपिएका छन्‌ । अध्यादेशमार्फत कानुन संशोधन गरेर छुटेका व्यक्तिका लागि अतिरिक्त समय दिइएपछि मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम जारी छ । सरकार तथा निर्वाचन आयोगले यथाशक्य छिटो मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ । निर्वाचन आयोगले ९ असोजमा सूचना प्रकाशित गरेर मतदाता नामावली संकलन थालिएको भनेको थियो ।

त्यसयता २ कात्तिकसम्म ७० हजार ४ सय १५ जना व्यक्ति मतदाता नामावलीमा थपिएका छन्‌ । त्यसमध्ये ४३ हजार १ सय ६५ पुरुष र २७ हजार २ सय ४४ महिला र ६ जना अन्यले नाम दर्ता गराएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । अनुमान गरिएजस्तो नामावली संकलनमा उत्साहजनक सहभगिता नदेखिएको उनले उल्लेख गरे ।

सरकारले मतदाता नामावली ऐन संशोधन गरेर निर्वाचन घोषणा पछाडि पनि मतदाता नामावली संकलनको व्यवस्था गरेको हो । २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ । निर्वाचन घोषणा भएको मितिबाट मतदाता नामावली संकलन नगरिने कानुनी व्यवस्थालाई सरकारले संशोधन गरेपछि नामावली संकलनको बाटो खुलेको हो । त्यसअनुसार आयोगले ३० कात्तिकसम्म मतदाता सूचीमा नाम दर्ता गराउन सकिने समय दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्