झापा, कात्तिक ५ । जेनजी आन्दोलनका क्रममा बिर्तामोडको जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट चोरिएको आफ्‌नो बाइक प्रहरीले पैसा तिरेर फिर्ता ल्याएको खुल्न आएको छ ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले ट्राफिक प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । त्यसक्रममा ट्राफिक भवनमा आगजनी गर्नुका साथै सवारी साधनमा समेत आगो लगाएका थिए । आगजनीबाट दुईवटा गाडी क्षतिग्रस्त भएका थिए । त्यस्तै सेतो नम्बर प्लेट भएका कार्यालयको ४ वटा र त्यहाँका कर्मचारीहरुको ४ वटा गरी ८ वटा मोटरसाइकल हराएको थियो ।

आगजनीबाट ध्वस्त भएको अवस्थामा तीन वटा सेतो प्लेटका मोटरसाइकल फेला परेका थिए भने ४ वटा निजी मोटरसाइकलमध्ये केही डढेको भेटिएको थियो । बाँकी मोटरसाइकल आन्दोलनकारीहरुले लिएर गएका थिए । हराएकोमध्ये एउटा मोटरसाइकल चोरेर लैजाने व्यक्तिबाट पैसा तिरेर फिर्ता ल्याइएको प्रहरी स्रोतले जनाएको छ । चोरेर सो मोटरसाइकल भारतको डिघलबैंकतिर लगिएको र चोर्नेलाई पैसा दिएर फिर्ता ल्याएको स्रोतको भनाई छ ।

कति रकम तिरेर फिर्ता ल्याएको भन्ने खुल्न सकेको छैन । ट्राफिक प्रहरी कार्यालयबाट हराएका तीनवटा मोटरसाइकल अझै नभेटिएको प्रहरीले जनाएको छ ।आन्दोलनकारीहरुले आक्रमण गर्दा ट्राफिक प्रहरी कार्यालयमा कार्यरत विर्जु महतो र उनकी श्रीमती सुनिता महतो घाइते भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्