झापा, कात्तिक ७ । झापाको बिर्तामोड– ९ नडियावारीस्थित आदर्शचौक–हल्दिवारी भित्री सडकखण्डमा कारले सिटी सफारीलाई ठक्कर दिँदा पाँचजना घाइते भएका छन् ।

आज बिहान अन्दाजी १०ः३० बजे बिर्तामोडबाट हल्दीबारीतर्फ जाँदै गरेको बा ०१–०३० च ८६७७ नं. को कारले बिपरित दिशाबाट आउँदै गरेको प्र १–०१–००२ ह ७०२८ नं. को सिटी सफारी तर्फको लेन बढी चापेर लगेपछि सिटी चालकले सिटी बचाउने क्रममा सिटी बाटोभन्दा मुनि पल्टिई दुर्घटना भएको हो ।
दुर्घटनामा सिटी चालक हल्दीबारी ३ बस्ने बर्ष ४१ का विवश मुर्मु , सिटीमा सवार इलाम माई नगरपालिका ६ बस्ने बर्ष ३७ का सुरेश गिरी , उनकी श्रीमती बर्ष ३५ की तुलसा गिरी, भतिजा बर्ष ४ का संयोग गिरी र भतिजी बर्ष ११ की निहारिया गिरी घाइते भएका छन् ।
घाइतेहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। कार र कार चालक बिर्तामोड–७ बस्ने बर्ष ५० का शंकरमणि पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




