झापा, कात्तिक ७ । शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले आज बिहान ८ः२० बजे किर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए।

गत शनिबार दिउँसो साढे २ बजेतिर स्टुडियोमा रहेकै अवस्थामा पौडेलले आफैंले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन्। पौडेलको ५५ प्रतिशत शरीरको भाग जलेको थियो।

उक्त घटनाबारे सोधपुछका लागि गायक बाबुल भनिने धनबहादुर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।भट्टराईका अनुसार, घटनाको अनुसन्धान गर्नका लागि स्टुडियो सञ्चालक समेत रहेका गिरीलाई नियन्त्रणमा लिइएको हो। घाइते महिलाको परिवार, आफन्त र प्रत्यक्षदर्शीलाई पनि सोधपुछका लागि प्रहरीमा बोलाइएको छ।

घटनामा गिरी पनि घाइते भएका थिए। उनको हात खुट्टामा सामान्य जलेको थियो। अनुसन्धान अधिकृतहरूले गिरीसँग घटना र कारणबारे सोधपुछ गरिरहेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्