झापा, कात्तिक ७ । गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरी आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गिरी शुक्रबार पक्राउ परेका हुन् । अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा आज बिहान मृत्यु भएपछि गायक गिरी पक्राउ परेका हुन् । पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो ।
आफैंमाथि आगो लगाइरहेको अवस्थामा गायिका पौडेललाई गत शनिबार प्रहरीले उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल पुर्याएको थियो । उक्त घटनामा गिरी पनि सामान्य घाइते भएका थिए । प्रहरीका अनुसार गिरी र पौडेल झन्डै ९ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।



