झापा, कात्तिक ७ । ब्रतालुहरुको संख्या बढ्दै गएपछि झापाको बिरिङ खोलामा भव्य छठ पूजाको तयारी गरिएको छ । बढी भीडभाड हुँदा सुरक्षामा चुनौती देखिएको छ ।


श्री छठ समाज सेवा समिति बिर्तामोडले बिरिङ खोलामा छठ पूजाको लागि करिव ८० प्रतिशत तयारी पुरा भइसकेको बताउँदै यस वर्ष १७५ वटा घाट रहने जानकारी दिएको छ । गत वर्ष १५४ वटा घाट रहेका थिए । ब्रतालुहरुको संख्या थपिएपछि यस वर्ष २१ वटा घाट थप्नु परेको श्री छठ समाज सेवा समितिकी अध्यक्ष संगीता रौनियारले पत्रकार सम्मेलनमा बताइन् । उनले अहिलेको परिस्थितिमा सुरक्षा चुनौती रहेको बताउँदै सुरक्षा व्यवस्थाका लागि सबै सुरक्षा निकायसंग आग्रह गरिएको जानकारी दिइन् ।

संस्थाका पूर्व अध्यक्ष घनश्याम चौधरीले छठ पूजाको सुरक्षाका लागि जनपद र सशस्त्र प्रहरीलाई आग्रह गरिएको बताए । त्यस्तै अर्का पूर्व अध्यक्ष देवेन्द्रकुमार सिंहले सुरक्षा निकायका सुरक्षाकर्मीसंगै ३० जना निजी सुरक्षागार्ड राखिने जानकारी दिए । कार्यक्रममा मूल समितिका संयोजक राजकुमार शाहले पर्सीसम्ममा सम्पूर्ण तयारी भइसक्ने जानकारी दिए । छठ पूजाका लागि मूल समितिसंगै विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

प्रमुख अतिथिमा प्रजिअ

विगतका वर्षहरुमा राजनीतिक दलका व्यक्तिहरुलाई प्रमुख अतिथि बनाउने गरिएकोमा यस वर्ष प्रमुख जिल्ला अधिकारीलाई प्रमुख अतिथि बनाइने भएको छ । देशको परिस्थिति अनुसार राजनीतिक दलहरुभन्दा सुरक्षा व्यवस्थाका लागि पनि प्रमुख जिल्ला अधिकारीलाई प्रमुख अतिथि बोलाएको अध्यक्ष रौनियारले बताइन् । पूजामा बिर्तामोड, चारपाने, अर्जुनधारा, लक्ष्मीपुर, दुर्गापुरलगायतका स्थानबाट ब्रतालुहरु आउने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्