झापा, कात्तिक ७ । रुकुम पश्चिम जिल्लाको पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब ७ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली छन् । एक जनाको पहिचान खुल्न बाँकी छ । घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले लगिएको छ ।



