झापा, कात्तिक ८ । जेनजी आन्दोलनका क्रममा तोडफोड भएर थन्किएको शव बाहन बिर्तामोड नगरपालिकाले अब नचलाउने भएको छ ।

नगरपालिकाले निःशुल्क रुपमा संचालन गर्दै आएको सो शव बाहन मर्मत गर्नका लागि करिव ८ लाख रुपैयाँ खर्च हुने भएको छ । जेनजी आन्दोलनका कारण बिर्तामोड नगरपालिका र वडा कार्यालयहरुले ठूलो क्षति व्यहोर्नु परेको छ । यो अबस्थामा शव बाहन मर्मत गरेर पुनः संचालन गर्न नसकिने नगरपालिका कार्यालयले जनाएको छ ।
शव बाहन चलाउन नसक्ने भएपछि त्यसका चालक खगेन्द्रप्रसाद मैनालीलाई नगरपालिकाले कामबाट निकालेको छ । बिर्तामोड ४ का रामचन्द्र मैनालीले सो शव बाहन नगरपालिकालाई दिएर सहयोग गरेका थिए । नगरपालिकाले मृतक परिवारलाई निःशुल्क रुपमा प्रदान गरी शव बाहनको सेवा दिँदै आएको थियो । त्यसबाट धेरैजना लाभान्वित भएका थिए । थन्किएको शव बाहनलाई कवाडीमा बिक्री गर्ने जनाइएको छ ।



