झापा,कात्तिक ९ । अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको हो ।
पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवद्र्धनात्मक कार्यक्रमपछि आधार शिविरमा चालु शरदयाममा नसोचेको संख्यामा पर्यटक आएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । “अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित भएर त्यहाँसम्म पुग्ने पदमार्ग तयार र प्रवद्र्धनका कार्यक्रमपछि यो याममा अपेक्षा गरेभन्दा धेरै पर्यटक आउनुभयो”, उनले भने, “युवापुस्ताको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको छ ।”
दसैँलगत्तै आधार शिविरमा दैनिक दुई सयदेखि पाँच सय जनासम्म पर्यटक आइरहेका अध्यक्ष पुनले बताए । आधार शिविरमा दुई वर्षअघिसम्म वसन्त याममा हेलिकप्टरमार्फत आरोहीहरू मात्र पुग्ने गर्दथे । पदमार्गमा रहेका होटलको क्षमताभन्दा बढी संख्यामा पाहुना आएकाले व्यवस्थापनमा समस्या भएको व्यवसायीले बताएका छन् ।
नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको शेर्पा अल्पाइन ट्रेकिङका पथप्रर्दशक लाक्पा आङवु शेर्पाले बताए ।
अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।
नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो ।




