कुमरखोद , कात्तिक ९ । प्रहरीसंगको मिलेमतोमा दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकामा खुलेआम तस्करी हुन थालेको छ ।

तस्करहरुले प्रहरीसंगको सेटिङमा दिनदहाडै निर्वाधरुपमा तस्करीलाई तीब्रता दिएका छन् । आज प्रहरीकै संरक्षणमा तस्करहरुले एक गाडी माछा भारतबाट नेपाल भित्र्याएका छन् । भारतबाट प्रतिबन्धित माछा लिएर आएको गाडीलाई स्थानीयले रोक्न खोज्दा प्रहरीले नै संरक्षण गरी भगाएको हो । झापा गाउँपालिका वडा नं २ नरिवलटोलाका युवाहरुले तस्करीको गाडीलाई रोक्न खोज्दा तस्करलाई जोगाउँदै प्रहरीले नै विवाद गरेको थियो ।

छठ पर्वको अवसरमा हुलाकी सडकअन्तर्गत पर्ने सानोमाई खोलाको किनारमा धार्मिक मेला लगाएका झापाली युवा क्लवका युवाहरुले आज दिउँसो १ बजे हुलाकी सडक हुँदै पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको प्र.१–०१–००२च०६५२ नं को महेन्द्रा कम्पनीको पिकअप भेनलाई रोकेका थिए । नेपालमा विक्री गर्न प्रतिवन्धित माछाको काटुन लोड गरिएको गाडी रोकेर उनीहरुले चावी खोसेका थिए । माछाको काटुनले भरिभराउ गाडीलाई चेक गर्न खोज्दा इलाका प्रहरी कार्यालय कुमरखोदका घुमुवा प्रहरी सहायक हवल्दार विकास घिमिरेले चेकजाँच गर्न नदिइ उल्टै कानुन हातमा नलिन भन्दै धम्क्याएको स्थानीय रवि मुखियाले वताए ।

स्थानीय प्रत्यक्षदर्शी सहदेवकुमार मण्डलका अनुसार उक्त माछा सुरक्षाको लागि सशस्त्र वेश क्याम्प लाने भन्दै सहायक हवल्दार घिमिरेले गाडीको चावी चालकलाई दिएर पठाएका थिए । तर, सो गाडी सशस्त्र वेश क्याम्प नलगी भगाइएको हो । उक्त गाडी वेश क्याम्पमा नपठाएर प्रहरीले नै तस्करलाई सहयोग गरेर भगाएको अर्का प्रत्यक्षदर्शी राजु महतोले बताए ।

प्रहरी सहायक हवल्दार घिमिरेले भने आफूले झगडा छुट्याउँदै गर्दा सो गाडी कता भागेको थाहा नभएको भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । यसैगरी टाँघनडुब्बाका सशस्त्र प्रहरीका विओपी प्रमुख प्रेम गुरुङले आफू केही दिनअगाडी मात्रै सरुवा भएर आएकोले यहाँको वारेमा केही पनि जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

खुल्ला सिमानाका कारण झापा गाउँपालिकामा तस्करले दिनदहाडै तस्करी गर्दै आएका छन् । गाईगोरु , वाख्रा , माछा , हार्डवेयरका सामान, किरानाका सामानहरु खुलेआम तस्करी हुँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्