द्रोण अधिकारी
भद्रपुर । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजास्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदीमा भव्य रूपमा छठ पूजा सम्पन्न गर्नका लागि तयारी तीव्र गतिमा अगाडि बढाइएको छ ।

तराईबासीको महत्वपूर्ण पर्व मानिएपनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बंगाली लगायत यहाँ रहेका सवै जातजातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजा गर्ने गरिएको छ ।
नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापा सदरमुकाम भद्रपुरस्थित मेची नदीमा मनाउँदै आएको छठ पर्वमा ३ हजार बढी पूजास्थल निर्माण गरी करिब ३ किलोमिटर क्षेत्रमा नदीको वारिपारी दुवैपट्टि पूजा गर्ने गरी व्यवस्थापनमा आयोजक लागिरहेको जनाइएको छ ।
पूजास्थलका लागि नेपाल भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने छन् भने विभिन्न सामाजिक संघ संस्थाले मेलामा सहभागी भक्तजनका लागि निःशुल्क पानी तथा चियाको व्यवस्था गर्ने जनाएका छन् ।
पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको समेत पाइएको छ । चार दिनसम्म मनाइने छठ पर्वमा पहिलो दिन र दोश्रो दिन सरसफाई तथा शुद्धताको काम गर्ने गरिन्छ भने तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाको औपचारिक सुरूवात गर्ने र चौथो दिन विहान उदाउदो सूर्यलार्य अर्घ्य चढाएपछि सम्पन्न गर्ने गरिन्छ । यो पर्वमा जनसहभागिताको हिसावले नेपालको जनकपुरपछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजका अगुवा विकास गुप्ताले जानकारी दिए । उनका अनुसार भद्रपुरको पूजा अवलोकन गर्न नेपाल भारतका गरी ५० हजार बढी भक्तजन आउने गरेका छन् ।
सहज अवलोकन र व्यवस्थित मण्डपका लागि पूजाको व्यवस्थापनलाई सहज बनाउन एक साता अघिदेखि नै आयोजकले तयारी तीव्र गतिमा अगाडि बढाइरहेको जनाइएको छ । नेपालका मात्र नभएर भारतको विहार तथा बंगाल राज्यका व्रतालु भक्तजनहरू यसै नदीमा छठ पर्व मनाउँदै आएकाले भद्रपुरको छठ पूजाको छुटै विशेषता रहने गरेको छ । पूजा अवलोकन गर्न भद्रपुरमा हजारौ भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ ।
यसको व्यवस्थापनका लागि मैथिली समाज भद्रपुर आयोजकको रूपमा रहने गरेको छ भने भद्रपुर नगरपालिका संरक्षक तथा विभिन्न सामाजिक संघ संस्था तथा राजनीतिक दलहरू सहयोगी निकायका रूपमा रहने गरेका छन् । दुवै देशका व्रतालु भक्तजनहरुले मेची नदीमा आएर आ–आफनो पूजास्थल बनाउने काम तीव्र बनाएका छन् । कतिपय भक्तजनले पूजास्थलमा व्यापारीकरण भएको गुनासो समेत गर्ने गरेका छन् । उनीहरूका अनुसार पूजाका लागि मण्डप निर्माणको बहानामा आयोजक संस्थाले महँगो भाडा असुल्ने गरेको छ ।
झापामा मेची नदीको अलावा निन्दा, हडिया, देउनिया, बिरिङ, कन्काई , अन्धुवालगायतमा मण्डप निर्माण गरी भव्य रूपमा छठ पूजा गर्ने गरिएको छ ।



