झापा, कात्तिक १० । दुई दिनअघि सवारी दुर्घटनामा घाइते इलाम सूर्योदय नगरपालिकाकी कार्यालय सहयोगी रूपा राईको उपचारको क्रममा मृत्यु भएको छ।

शनिबार साँझ ५.३० बजे सूर्योदय नगरपालिका–१०, आहालेमा अटो र पिकअप ठोक्किँदा उनी गम्भीर घाइते भएकी थिइन् । आहालेस्थित भित्री सडकखण्डमा फिक्कलबाट आहालेतर्फ जाँदै गरेको प्रदेश १ –००१ ह ८१९७ नं.को अटो र बिपरीत दिशाबाट आउँदै गरेको मे १ ज १७९० नंम्बरको पिकअप एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
अटोमा सवार सूर्योदय– १० आहाले बस्ने ३६ वर्षीया रुपा राईको टाउकोमा चोट लागेको थियो । घाइते राईलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । त्यहाँबाट उनलाई न्युरो अस्पताल बिराटनगर लगिएको थियो । आज बिहान ७ः२५ बजे घाइतेलाई फिक्कल अस्पताल फिक्कलमा ल्याई चेकजाँच गर्दा अस्पतालका डाक्टरले मृत घोषणा गरेका छन् ।
मृतकको शवको पोस्टमार्टम गरिएको र पिकअप चालक सोही ठाउँ बस्ने ४० वर्षीय तारा बुढाथोकीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।



