द्रोण अधिकारी
भद्रपुर । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजास्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारतका हजारौं भक्तालुहरुले भव्य रूपमा छठ पूजा गरेका छन् ।


तराईबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली लगायत अधिकांश जातजातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर भव्यरूपमा पूजा गरिएकोे हो ।

नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापाको सदरमुकाम भद्रपुरस्थित मेची नदीमा मनाउँदै आएको छठ पर्वमा एक हजार बढी पूजास्थल निर्माण गरी ३ किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुवैपट्टिबाट हिमाल, पहाड र तराईका बासिन्दाले
सहभागी भएर साझा पर्व मनाएका छन् । पूजास्थलको सुरक्षाका लागि नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेका छन् भने विभिन्न सामाजिक संघ संस्थाले मेलामा सहभागी भक्तजनका लागि पानी तथा चियाको निःशुल्क व्यवस्था गरेका छन् ।


पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको पाइएको छ । चार दिनसम्म मनाइने छठ पर्वमा तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र चौथो दिन विहान उदाउदो सूर्यलाई अर्घ चढाएपछि सम्पन्न हुने गर्छ । यो पर्वमा जनसहभागिताको हिसाबले नेपालको जनकपुरपछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजका अग्रज विकासकुमार गुप्ताले जानकारी दिए ।


यसैबीच छठ पर्वको अवसर पारेर मेची घाटमा रहेको छठी माता मन्दिर परिसरमा गंगा आरतीको आयोजना गरिएको छ । भद्रपुर नगरपालिकाले आयोजना गरेको गंगा आरतीको नगर प्रमुख गणेश पोखरेलले शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्