झापा,कात्तिक ११ । सरकारले केही दिनअघि ११ जना राजदूतलाई फिर्ता बोलायो ।

तर रिक्त रहेका ती मुलुकमा सरकारले तत्काल राजदूत नियुक्त नगर्ने भएको छ । संसद् नरहेको र अन्य कानुनी झन्झट देखिएकाले तत्कालै नयाँ राजदूत नपठाउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार राजदूत नियुक्त गर्ने सरकारको कुनै तयारी छैन । रिक्त स्थानमा परराष्ट्र मन्त्रालयकै कर्मचारीले कार्यवाहक राजदूतको रुपमा काम गर्नेछन् ।
हालै एक अन्तर्वार्तामा गृहमन्त्री ओमप्रकाश आर्यालले पनि फिर्ता बोलाइसकेका राजदूतको ठाउँमा तत्कालै नयाँ राजदूत नपठाइने बताएका थिए । सरकार चुनावको तयारीमा लागिसकेकाले अन्य काममा नअल्झिने उनको भनाइ थियो ।
त्यसमाथि सरकारले राजदूत फिर्ता बोलाएकोमा सर्वोच्च अदालतमा रिट दायर भएको छ । राजदूत फिर्ता बोलाउनुको कारण पेस गर्न सर्वोच्च अदालतले सरकारको नाममा आदेश दिएको छ । कात्तिक १४ गते अदालतमा उपस्थित भएर कारण पेस गर्न कात्तिक ९ गते आदेश दिएको छ ।
यता, परराष्ट्र मन्त्रालयले राजदूत खाली भएको ठाउँमा त्यहीँ रहेका परराष्ट्रका कर्मचारीहरुलाई जिम्मेवारी दिइसकेको छ । त्यसमा सहसचिव, उपसचिव, अधिकृत तहदेखि नायब सुब्बा तहसम्मका कर्मचारी परेका छन् । ती देशमा रहेका उपनियोग प्रमुखदेखि लिएर सहचारीसम्मका कर्मचारी कार्यवाहक राजदूत भएका छन् ।

असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, जापानका डा. दुर्गाबहादुर सुवेदी, इजरायलका धनप्रसाद पण्डित, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती, कतारका रमेशचन्द्र पौडेल, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल र बेलायतका चन्द्रकुमार घिमिरेलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

केही फर्किसकेका छन् भने अरु फर्किने तयारीमा छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार कात्तिक २० गतेसम्म उनीहरु फर्किसक्नुपर्ने हुन्छ ।

अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूतको जिम्मेवारी परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले सम्हाल्नेछन् भने चीनको कार्यवाहकमा सहसचिव रोशन खनाल रहने प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

त्यस्तै जर्मनीको कार्यवाहकमा उपनियोग प्रमुख सागर फुयाल, जापानको कार्यवाहकमा उपनियोग प्रमुख हरिहरकान्त पौडेल, मलेसियाको कार्यवाहकमा उपनियोग प्रमुख मुदिता बज्राचार्य, कतारको कार्यवाहकमा उपनियोग प्रमुख कुमार राई, बेलायको कार्यवाहकमा उपनियोग प्रमुख विपिन घिमिरे, साउदीको कार्यवाहकमा उपनियोग प्रमुख सिर्जना अधिकारी, स्पेनको कार्यवाहकमा उपनियोग प्रमुख रहेका अधिकृत पूरक अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै, इजरायलको कार्यवाहकमा उपनियोग प्रमुख अधिकृत कुमारबहादुर श्रेष्ठ, रुसको कार्यवाहकमा सहचारी कसम पोखरेल रहनेछन् ।

प्रवक्ता क्षेत्रीले कार्यवाहकको रुपमा काम गर्ने राजदूतहरु सबै अनुभवी रहेको र क्षमतामा कुनै कमी नरहेको बताए । राजदूत हटेपछि नयाँ नजाँदासम्म सबभन्दा वरिष्ठ परराष्ट्र कर्मचारीले स्वतः कार्यवाहक राजदूतको जिम्मेवारी पाउने प्रचलन रहेको उनको भनाइ छ । त्यसका लागि परराष्ट्र मन्त्रालयबाट कुनै कार्यादेश आवश्यक हुँदैन ।

यदि लामै समय बस्नुपर्ने अवस्था आयो भने परराष्ट्रले पत्र दिने क्षेत्रीले बताए । ‘छोटो समयका लागि पत्रकै जरुरी पर्दैन, तर लामो समयका लागि भयो भने पत्र पठाउने काम हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्