झापा, कात्तिक ११ । दिन प्रतिदिन बेपत्ता हुनेहरुको संख्या बढ्दै गएपछि झापा प्रहरी हराएका मानिस खोज्न तल्लीन भएको छ ।

हिजो एकैदिन पाँचजना हराएको निवेदन प्रहरीमा परेको छ । कात्तिक ६ गते अन्दाजी बिहान १०बजे हल्दिबारी वडा नं. २ रमेश पराजुलीको क्वाटरमा बस्दै आएका सुनिल हेमरमकी श्रीमती ३३ वर्षीया गंगा मुर्मु भाइटीका लगाउन माइत जान्छु भनी हिडेकोमा बेपत्ता भएकी छन् । उनी हालसम्म पनि नआएको र आफन्तहरूकोमा सोधपुछ र खोजतलास गर्दा फेला नपरेपछि उनका श्रीमान सुनिल हेमरमले प्रहरी चौकी हल्दिबारीमा हुलियासहित निबेदन दिएका छन् ।

त्यस्तै कात्तिक ७ गते दिउँसो १ बजे घरमा कोही कसैलाई नसोधी शिवसताक्षी – ३ भोरलिचन टोल बस्ने कविध्वज केदम लिम्बूकी श्रीमती ३३वर्षीया सम्झना राई लिम्बू साथमा ४ वर्षकी छोरी बिभिना लिम्बूलाई लिएर वेपत्ता बनेकी छन् । हालसम्म सम्पर्कबिहिन भएको , आफन्त र छरछिमेक समेतमा खोजतलास गर्दा फेला नपरेपछि उनका श्रीमानले हिजो इलाका प्रहरी कार्यालय झिलझिलेमा लिखित निवेदन दिएका छन् ।

त्यस्तै हिजो दिउँसो ३ः५५ बजे शिवसताक्षी– १० माईधार बस्ने ३३ वर्षीय सरोज शर्मा (विवाहित) घरमा कोही कसैलाई नसोधी घरबाट बागमति प्र ०१–०३० च ७१०४ कार लिएर गई सम्पर्कबिहीन भएका छन् । आफन्त, छरछिमेक समेतमा खोजतलास गर्दा समेत हालसम्म उनी फेला परेका छैनन् । खोजतलास तथा हुलिया परिपत्र गरि पाउँ भनी उनका बुवा सकलदेव शर्माले इप्रका झिलझिलेमा निवेदन दिएका छन् ।

त्यस्तै हिजो दिउँसो ४ बजे कचनकवल वडा नं ६ बनियानी बस्ने टेवक हजामकी छोरी वर्ष२०की खन्जान हजाम छठ पूजा हेर्न भनी मेची नदीतर्फ गएकीमा हालसम्म घर फर्केर आएकी छैनन् । मौखिक जानकारी गराउनसाथ इलाका प्रहरी कार्यालय बनियानीले उनको खोजी शुरु गरेको छ ।

हिजो पाँचजना हराएको निवेदन परेकोमा त्यसको अघिल्लो दिन चारजना हराएको निवेदन परेको प्रहरीले जनाएको छ । आइतवार साँझ . ५ः३०बजे कमल वडा नम्बर–५बस्ने निमा तामाङका छोरा बर्ष १५का रविन तामाङ र उनकी बहिनी बर्ष ९ की रिङचिङ तामाङ कोही कसैलाई नसोधी आफूखुशी घर छाडी दमक बजारतर्फ लागेका थिए । घर फर्की नआएपछि उनीहरुका बडीआमा इन्द्रकला तामाङले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएकी थिइन् । खोजी गर्ने क्रममा ती दुई बालबालिका साँझ ७ः४५ बजे फेला परेका थिए ।

त्यस्तै कात्तिक ८गते साँझ ५बजे इलाम सूर्योदय वडा न.९घर भई हाल बिर्तामोड वडा न.१ मा डेरा गरी बस्ने वर्ष२६ का उज्वल राई कोही कसैलाई कुनै पनि जानकारी नगराई हराएका छन् ।

त्यस्तै कात्तिक ९ गते विहान ६ः३० बजे धनकुटा नगरपालिका ६ घर भई भद्रपुर– ९ पुहाँतुबारी मावली घर आएकी प्रकाश खड्काकी छोरी वर्ष १३ की प्रमिसा खड्का घरमा कोही कसैलाई जानकारी नगराइ बेपत्ता भएकी छन् । उनका आफन्तले निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटिएर खोजी भइरहेको प्रहरीले जनाएको छ ।

हराएको मानिस खोजी गर्नुपर्ने प्रहरीका लागि ठूलो काम आइपरेको झापा प्रहरी प्रमुख एसपी राजन लिम्बूले बताए । उनले हराउने १२–१५ वर्षका बालिकाहरु बढी रहेको बताउँदै ती उमेर समूहका बालिकाहरुको खोजीमा कुनै कसर बाँकी नराखेको जानकारी दिए । हराएका केही बालिकाहरुलाई भेटाएर अभिभावकको जिम्मा लगाइएको उनले जानकारी दिए । आफ्‌ना छोराछोरीप्रति अभिभावकहरु चनाखो बन्नु पर्ने आवश्यकता रहेको एसपी लिम्बूको भनाई छ ।

मोरङमा बेपत्ता भएको करिव दुई सातापछि एक बालिकाको हत्या भएको घटनाले त्रसित र चिन्तित बनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्