झापा, कात्तिक १२ । जेनजी आन्दोलनका क्रममा गरामनीमा रहेका झापा विद्रोहका शहीदहरुको शालिक तोडफोड भएको विषयमा विवाद बढ्दै गएको छ ।


शालिक तोडफोडमा राप्रपाका कार्यकर्ताहरुको हात रहेको आरोप लगाउँदै नेकपा एमालेका कार्यकर्ताहरुले भण्डाफोर कार्यक्रम गर्न थालेपछि त्यसको जवाफमा राप्रपाले पनि आज र्‍याली गर्ने भएको हो । शान्ति सद्भाव र्‍यालीको नाममा राप्रपाले एमालेलाई काउन्टर दिन लागेको बताइएको छ । सो प्रदर्शनलाई एमाले कार्यकर्ताहरुले विथोल्ने चेतावनी दिएपछि गरामनीमा बाक्लो सुरक्षाकर्मी तैनाथ गरिएको छ । गरामनी प्रहरी चौकीसंगै इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।

शालिक तोडफोड घटनाको विरोधमा एमालेले गत असोज २८ गते गरामनीमा विरोध प्रदर्शन गरेको थियो भने तोडफोडमा संलग्न रहेको भन्दै विभिन्न व्यक्तिहरुको फोटो सामाजिक संजालमा सार्वजनिक गर्दै आएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते झापा विद्रोहका क्रममा २०२८ सालमा गरामनीमा मारिएका चन्द्र डाँगी, हेमबहादुर खड्का ,हरिकृष्ण चौधरी , भेटला राजवंशी, बृजीलाल राजवंशी,नेत्र घिमिरे ,कृष्ण कुईकेल र नारायण श्रेष्ठको शालिक तोडफोड भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्