झापा,कात्तिक १२ । नेपाल र भारतबीच थप दुईवटा महत्त्वपूर्ण अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गर्ने बाटो खुलेको छ।

इनरुवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झौतापत्रमा आज नयाँ दिल्लीमा हस्ताक्षर भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा बुधबार यो सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
नेपाल विद्युत् प्राधिकरणका तर्फबाट उपकार्यकारी निर्देशक सुभाष कुमार मिश्र र पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेडका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्चालन अधिकृत सञ्जय कुमार गुप्ताले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। संयुक्त लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा दुवै प्रसारण लाइन निर्माणका लागि नेपाल र भारत दुवै भूमिमा दुईवटा संयुक्त कम्पनी स्थापना गर्ने बाटो खुलेको छ।
निर्माणमा ८० प्रतिशत ऋण र २० प्रतिशत सेयर पुँजी रहने गरी वित्तीय व्यवस्थापन गरिनेछ। भारतीय खण्डमा प्राधिकरणको ४९ प्रतिशत र पावर ग्रिडको ५१ प्रतिशत सेयर हिस्सा रहनेछ। नेपाली खण्डमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत सेयर हिस्सा रहनेछ। दुवै लाइनको निर्माण सन् २०३० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।



