झापा,कात्तिक १३ । सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेस क्याम्पबाट आज बिहान सम्म १ सय ६२ जनाको उद्वार गरेको छ ।

अब अन्नपूर्ण बेशक्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेश क्याम्पमा हिउँ पहिरो आइरहेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्वारका लागि सुरक्षा फौज बेशक्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा गएको फौजले १७ बिदेशी पर्यटकसहित आज बिहान सम्म १ सय ६२ जनाको उद्वार गरेको हो ।
बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरुको डोरिको सहायताले बाटो पहिल्याउंदै उद्वार गरिएको हो । सबै पर्यटकको उद्वार भएपछी यतिखेर बेशक्याम्प खाली भएको छ ।
३ दिनको निरन्तर प्रयासपछि बेशक्याम्प हिंडेका केही पर्यटकलाइ बाटोबाट नै फर्काइएको थियो । बुधबार मात्रै बेशक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाइ सुरक्षित स्थानमा ल्याइएको थियो ।
कार्तिक ११ गते बाटोबाट फर्काइएका र आज बिहान पनि बेशक्याम्पबाट तल झारिएकासहित १ सय ६२ जनाको उद्वार भएको हो । उद्वार गरिएकाहरुलाई अन्नपूर्ण गाउँपालिका–४ गुफाफांट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ ।
उनीहरु सबै हिमपात नभएको सुरक्षित स्थानमा छ्न् । उद्वार गरिएका केहिमा स्वासप्रस्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठूलो समस्या भने देखिएको छैन । माथिल्लो क्षेत्रमा संचार सम्पर्क नभए पनि आज साँझसम्म सबै जना परिवारसँग फोन सम्पर्कमा आउने थापाले बताए ।



