झापा, कात्तिक १३ । जेनजी आन्दोलनका क्रममा कांग्रेस र कम्युनिष्ट शहीदका शालिक मात्र तोडफोड भएन, दोस्रो जनआन्दोलनमा शहादत प्राप्त गरेकी नेपालगंजकी सेतु विकको शालिकसमेत तोडियो । जेनजी आन्दोलनको दोस्रो दिन देशभरि शहीदका शालिकमाथि आक्रोश पोखिएको थियो ।

झापामा तत्कालीन सत्ता गठबन्धन कम्युनिष्ट र कांग्रेसका शहीदका शालिकमाथि धावा बोल्ने काम भयो । अर्जुनधारास्थित सुखानी स्मृति पार्कमा तोडफोड गरी पाँचजना शहीदको शालिक ढालिएको थियो ।

तत्कालीन पञ्चायतविरुद्ध भएको झापा विद्रोहका क्रममा ०२९ फागुन २१ गते हत्या गरिएका कम्युनिस्ट आन्दोलनका योद्धा नेत्र घिमिरे, वीरेन राजवंशी, रामनाथ दाहाल, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठको शालिक भत्काइएको हो । ती शहीदका शालिक अहिले डोरीको भरमा अड्याइएको छ ।

शालिक मर्मतका लागि करिव १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । जेनजी आन्दोलनको दोस्र्रो दिन नै बिर्तामोड– ८ गरामनी बजारमा रहेका ८ जना कम्युनिष्ट शहीदको शालिक भत्काइयो । झापा विद्रोहका क्रममा गरामनीमा मारिएका चन्द्र डाँगी, हेमबहादुर खड्का ,हरिकृष्ण चौधरी , भेटला राजवंशी, बृजीलाल राजवंशी,नेत्र घिमिरे ,कृष्ण कुईकेल र नारायण श्रेष्ठको शालिक तोडफोड भएको हो । ती अर्धकदका शालिक बिर्तामोड वडा नं ८ र ९ को वडा कार्यालयअगाडि सार्वजनिक जग्गामा पार्क निर्माण गरी राखिएको थियो ।


सोही दिन कांग्रेस शहीद उद्रकान्त राजवंशीको नाममा खोलिएको बिर्तामोड ९ स्थित उद्रकान्त राजवंशी स्मृति प्रतिष्ठानमा पनि तोडफोड भयो । घरभित्र राखिएको शालिक तोड्न नपाएपनि प्रतिष्ठानको दुई कोठे घर , ६५ वटा प्लाष्टिकका कुर्सी , ४ वटा टेबल, २ वटा डेस्क बेन्च, सिलिङ फेनलगायतका सामान तोडफोड भयो । दराजभित्र राखिएको ४१ हजार नगद लुटेर लगेको प्रतिष्ठानका सचिव वासु अधिकारीले बताए । गरामनीमा भएको शालिक तोडफोडलाई लिएर विवाद भएको छ । जसले तोडफोड गरेका हुन् ,उसैले बनाइदिनु पर्ने एमाले र कांग्रेसले चेतावनी दिएका छन् ।

दलहरुलाई लक्षित गरी गरिने राजनीतिक आन्दोलनमा विरोधी नेता कार्यकर्तासंगै तिनका शहीदहरु पनि आक्रोशको शिकार बन्ने गरेका छन् । भदौ २४ गते नेपालगन्जको न्युरोडस्थित सेतु विकको शालिकमात्रै होइन नेपालगन्जका विभिन्न स्थानमा रहेका गणेशमान सिंह, वीपी कोइराला र पुष्पलाल श्रेष्ठको शालिकमा समेत तोडफोड गरिएको थियो । अहिले तोडफोड गरिएको सेतु विकको शालिक भएको स्थानमा यसअघि ज्ञानेन्द्र शाहको शालिक थियो ।

यसअघिको दृष्टान्तलाई हेर्दा २०६२–०६३ को जनआन्दोलनमा चन्द्रगढीको महेन्द्र पार्कमा रहेको स्वर्गीय राजा महेन्द्रको शालिक तोडफोड भएको थियो । त्यस महेन्द्र पार्कको नाम परिवर्तन गरी शहीद पार्क नामकरण गरियो । पछि २०७९ सालमा राजावादीहरुले सोही पार्कमा पुनः महेन्द्रको शालिक पुनर्स्थापना गर्न खोजेका थिए । तर, सकेनन् ।

उता २०८० सालमा कंचनपुरमा राजावादीहरुले भीमदत्त पन्तको शालिक तोडफोड गरेका थिए । यसरी एउटा दलले अर्को दलका शहीदमाथि प्रहार गर्ने क्रम चल्दै आएको छ । जुन गलत हो । मुलुक र मुलुकबासीको लागि आफ्नो अमूल्य जीवन वलिदान गर्ने व्यक्ति नै शहीद भएको यथार्थलाई हामीले मनन गर्नुपर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्