झापा, कात्तिक १४ । भारी वर्षाका कारण तमोर–कोरिडोर र मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

   
गएरातिदेखि परेको अविरल बर्षाको कारण पाँचथर तुम्वेवा गाउँपालिका २ र धनकुटा चौबिसे गाउँपालिका ४ सिमाना भई बग्ने नावाखोलामा बाढी आएपछि तमोर–कोरिडोर सडक–खण्ड पूर्णरुपमा अवरुद्ध बनेको हो । अस्थायी प्रहरी चौकी नावाखोलाबाट प्रहरी टोली खटिएको र तत्काल पाँचथरतर्फ ३ वटा ट्रक र धनकुटातर्फ ४ वटा ट्रक होल्डमा रहेको प्रहरीले जनाएको छ ।
  त्यस्तै मध्य पहाडी लोकमार्ग पनि अबरुद्ध बनेको छ । अविरल बर्षाका कारण पाँचथर याङवरक .३ स्थित रिजाल भिरमा पहिरो गई मध्य पहाडी लोकमार्ग अवरुद्ध बनेको हो । इलाका प्रहरी कार्यालय च्याङथापुबाट प्रहरी टोली खटिएर हेर्दा तत्काल राजमार्ग खुलाउने सम्भावना नभएको प्रहरीले जनाएको छ ।
त्यस्तै अबिरल बर्षाका कारण ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ र ७ को सिमानामा सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा लेदोसहितको बाढी आई सडकको भाग खोली गहिरो बनाई सडकमा क्षति गरेको छ । जसका कारण लोकमार्ग अबरुद्ध बनेको प्रहरीले जनाएको छ ।
 
                 
		
 
 


 
  
  
 