झापा,कात्तिक १४ । प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीका लागि तोकेका नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहल गर्न श्रम सचिवलाई निर्देशन दिएकी छिन् ।

प्रधानमन्त्री कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव कृष्णहरि पुष्करलाई बोलाएर उक्त विषयको समाधानका लागि पहल गर्न निर्देशन दिएकी हुन् ।
मलेसिया सरकारले कात्तिक १० गते (२७ अक्टोबर) मलेसियामा रहेको दूतावासलाई पत्रमार्फत मलेसिया सरकारले तोकेका नयाँ मापदण्ड कार्यान्वयन गर्ने म्यानपावरबाट श्रमिक पठाउन जानकारी गराएको थियो । नेपालको कानुन अनुसार सञ्चालित म्यानपावर कम्पनीलाई मलेसिया सरकारले केही सीमित व्यवसायीको प्रलोभनमा परेर सिन्डिकेट गरेको भन्दै व्यवसायी र सरोकारवालाबाट गुनासो आएपछि प्रधानमन्त्री कार्कीले चासो व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिव पुष्करले मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे जानकारी प्राप्त भएको र कूटनीतिक रूपमा यस विषयको सम्बोधन गर्नुपर्ने बताए । उनका अनुसार प्रधानमन्त्री कार्कीले यस विषयमा परराष्ट्र, अर्थ र श्रम मन्त्रालयसँग पनि समन्वय गर्नसमेत निर्देशन दिइन् ।
मलेसिया नेपालीको प्रमुख श्रम गन्तव्य देशमा पर्छ । दुई वर्षयता भने मलेसियाले नयाँ श्रमिक लिन छोडेको थियो । यस वर्ष चाहिँ मलेसियाले दुई लाख आप्रवासी श्रमिक मागेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्